विश्व बाघ दिवसः सङ्ख्या बढेसँगै संरक्षणमा चुनौती



चितवन । नेपालमा बाघको सङ्ख्या बढेसँगै संरक्षणमा नयाँ चुनौती थपिएका छन् । लक्ष्य लिएभन्दा बढी सङ्ख्यामा बाघ बढेपछि बासस्थान र आहारा व्यवस्थापन चुनौती बनेको हो । यससँगै मानवसँगको द्वन्द्व पनि बढ्दै गएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

सन् २०२२ मा गरिएको राष्ट्रिय बाघ सर्वेक्षणअनुसार नेपालमा बयस्क बाघको सङ्ख्या तीन सय ५५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै यो सङ्ख्या एक सय २८ रहेको राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए ।


पाटेबाघ विश्वका १३ देशमा पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा रसियाको सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

तत्कालीन समयमा नेपालमा एक सय २१ बाघ थिए । सन् २०२२ मा आइपुग्दा यो सङ्ख्या दुई सय ४२ पु¥याउने लक्ष्य लिइएकामा लक्ष्यअनुसारको सङ्ख्या बढेर तीन सय ५५ पुगेको छ । यो देशकै लागि सफलता मानिए पनि यसपछिका चुनौतीहरु भने थपिएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी तिवारीले गत आर्थिक वर्षमा निकुञ्जमा आठवटा बाघ मरेका जानकारी दिए । बाघ मरेको कम थाहा हुने भन्दै उनले निकुञ्ज सुरक्षाको क्रममा बढी गस्ती गरिएकाले बाघ धेरै मरेका हुनसक्ने बताए ।

बासस्थानका लागिसमेत बाघहरु एकआपसमा लडेर मृत्यु हुने गरेको तिवारीको भनाइ छ । “यो अवधिमा चारजनाको बाघको आक्रमणबाट मृत्यु भएको छ । निकुञ्जभित्र र बाहिर यस्ता घटना हुने गरेका छन् । एक जनाको निकुञ्जभित्रको कोर क्षेत्रमा र अन्यको मध्यवर्ती वन क्षेत्रमा बाघको आक्रमणबाट मृत्यु भएको हो”, उनले भने ।

सूचना अधिकारी तिवारीले केही वर्ष अघि गरिएको अध्ययनले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक सय ७५ बाघका लागि बासस्थान पुग्ने देखाएको थियो । बासस्थान व्यवस्थापनमा सुधार गरेमा अरु थप बाघ रहन सक्ने देखिएको उनको भनाइ छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज एकआपसमा जोडिएका छन् ।

बाघको आहार प्रजाति पर्याप्त नहुँदा शिकारका लागि बाघ बाहिर बस्तीमा प्रवेश गर्ने र घटना हुने गरेको छ । निकुञ्जभित्र र आसपासका क्षेत्रमा बाघ हिंस्रक बनेसँगै नियन्त्रणमा लिएर राख्ने गरिएको छ । निकुञ्जको मुख्यालय कसरा र भरतपुरको देवनगरमा पाँच वटा बाघ खोरमा राखिएको छ । कसरामा तीनवटा छन् भने देवनगरमा दुईवटा छन् ।

सौराहामा खोर मर्मत हुँदै गरेकाले अहिले बाघ नराखिएको निकुञ्जका सूचना अधिकारी तिवारीले बताए । नियन्त्रणमा लिएर राखिएका बाघको हेरचाहका लागि समेत कठिनाइ हुने गरेको उनको भनाइ छ

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले बाघको सङ्ख्या बढेसँगै चुनौती पनि थपिएको बताए । बासस्थानको व्यवस्थापन गर्न नसक्दा मानव बस्तीमा बाघ प्रवेश गरेर द्वन्द्व बढाएको उनले उल्लेख गरे । सरकारले बासस्थान व्यवस्थापनमा पर्याप्त बजेट विनियोजन गरेर निकुञ्जभित्र आहारको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

अध्यक्ष ढुङ्गानाले बाघको आहारा प्रजाति मानव बस्तीमा आएर बालीनाली खाइदिने र उनीहरुको सिकारका लागि बाघ पनि मानव बस्तीमा आउने गरेको बताए । मध्यवर्ती क्षेत्रमा निकुञ्जमा उठेको राजस्वको ३० देखि ५० प्रतिशत विनियोजन गरेर मेसजाली, कम्पाउन्ड वाल, मध्यवर्तीमा भौतिक पूर्वाधार र संरक्षण शिक्षाका कार्यक्रम गर्दै आएकामा पछिल्ला वर्षहरुमा बजेट न्यून आएसँगै थप समस्या भएको उनले जानकारी दिए । सङ्कलन भएको राजस्वको २० प्रतिशतभन्दा तल मध्यवर्तीमा बजेट आएको भन्दै उनले यसले थप द्वन्द्व बढाउने अवस्था सिर्जना गरेको बताए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाले बाघको सङ्ख्या बढेसँगै आहारा प्रजाति बढाउनुपर्नेमा जोड दिए । निकुञ्जभित्र बासस्थानको व्यवस्थापनका लागि आवश्यक पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए । बाघले आफ्नै क्षेत्र निर्धारण गरेर बस्ने भन्दै महानिर्देशक डा ढुङ्गानाले सङ्ख्या थपिएसँगै सेञ्चुरी निर्माण गरेर यसको संरक्षण गर्नुपर्ने अवस्था आएको बताए । विचरण गर्न सक्ने ठूलो खुल्ला खोर (सेञ्चुरी) निर्माण गर्ने योजनामा विभाग रहेको उनले जानकारी दिए ।

कतिपय देशहरुमा बाघ उपहार दिएर ‘बाघ कूटनीति’ अपनाउने विषयमा पनि छलफल भइरहेको महानिर्देशक ढुङ्गानाले बनाए । यसबाट अन्य देशहरुमा मित्रता बढाउन सहयोग पुग्ने उनको भनाइ छ । बाघलाई मानव बस्तीमा आउन नदिने गरी भित्रै व्यवस्थापन गर्ने विषयमा विभागको ध्यान गएको महानिर्देशक ढुङ्गानाले बताए । उनले भने, “आहारा प्रजाति बढाउन आवश्यक घाँसेमैदान, पानीपोखरी र सिमसार क्षेत्र सुधार कार्यक्रम अगाडि बढाउने योजनामा छौँ ।”