ललितपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विश्वविद्यालयसँग भएका अनुसन्धानलाई समुदायसँग जोड्नुपर्ने बताएकी छन् ।
काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशनद्वारा शनिवार ललितपुरमा आयोजित वर्तमान शिक्षा नीतिको कार्यान्वयन अवस्था सम्बन्धी छलफलमा उनले अनुसन्धानकर्तालाई समुदायसँग जोड्दै विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्ने बताइन् ।
‘विश्वविद्यालयले अनुसन्धान गरेका विषयवस्तुलाई ग्रहण गर्नेमा अहिलेसम्मका सरकारले ध्यान दिन सकेको छैन, कार्यकारी भूमिकामा रहेको सरकार र विश्वविद्यालय अन्तरसम्बन्धित भएर अगाडि बढ्नुपर्छ, निरन्तर सम्वाद चल्नुपर्छ, युवा देशबाट विदेशिनुको कारण राज्य पहिलो भन्ने कुरा स्थापित गर्न नसक्नु हो, हामीले पारस्परिक सहकार्य र सहयोगका माध्यमबाट यसलाई समाधान गर्न सक्छौँ,’ मन्त्री भट्टराईले भनिन् ।
उनले विश्वविद्यालयसँग समन्वय गरेर ७० प्रतिशत प्राविधिक शिक्षालाई जोड दिनुपर्ने भन्दै प्रदेश र स्थानीय तहसँग बसेर धेरै काम गर्न बाँकी रहेको बताइन् ।
मन्त्री भट्टराईले युवाहरूको चाहानमा देशको विकास गर्ने गरी उनीहरुकै चाहनामा ज्ञानसीप युक्त बनाउन तालिम र कोषको विकास गर्नुपर्ने बताइन् ।
‘हामी विद्यार्थीमैत्री हुन सकेका छैनौँ, विद्यार्थीको आँखाबाट फलदायी हुने तालिम, सीप र क्षमता अभिवृद्धिका काम गर्नुपर्छ, तीनै तहका सरकारले निर्धारण गरेका योजनालाई जोड्नुपर्छ,’ उनले भनिन् ।
प्रविधिको क्षेत्रमा विश्वविद्यालयसँग समन्वय र छलफल गर्ने भन्दै मन्त्री भट्टराईले दुई दिने कार्यक्रमबाट प्राप्त निष्कर्ष मन्त्रालयले पाउने विश्वास व्यक्त गरिन् ।