विमान दुर्घटनास्थल पुगे प्रधानमन्त्री ओली, पाइलटको अवस्था बुझ्न अस्पताल जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विमान दुर्घटनास्थल पुगेका छन् । ओली बुधबार बिहान भएको सौर्य एयरको विमान दुर्घटनाको जानकारी लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन् ।

गृहमन्त्री रमेश लेखक पनि घटनास्थलमा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार बिहान ११ः११ मा पोखरा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको जनाएको छ ।


विमानस्थलमा रहेका १९ मध्ये १८ जनाको शव फेला परेको पुष्टि भएको छ ।

दुर्घटनास्थलबाट प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी घाइते भएको पाइलट मनिषरत्न शाक्यको अवस्था बुझ्न अस्पताल जाँदैछन्।

विमानमा चालक दलका सदस्य सहित १९ जना सवार थिए । पोखरामा बिग्रिएको जहाज बनाउन हिँडेका सबै यात्रु सौर्य एयरको इन्जिनियर र कर्मचारी हुन् । विमानमा अमित मान महर्जन, सगर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदिप लाल जोशी, सर्वेश मरासिनी, श्याम बिन्दुकार, नवराज आले, राजाराम आचार्य, प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौड्याल, सन्तोष महतो, पुण्य रत्न शाही र आरिफ रेडा सवार थिए ।

यसैबीच ओलीले सौर्य एयरको विमान दुर्घटनाप्रति दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्रीले भने, “नियमित प्राविधिक परीक्षणका लागि पोखरा उड्न लाग्दा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जना प्राविधिक र क्र्यु मेम्बरको निधनले अत्यन्त दुःख लागेको छ । नागरिक उड्ययन प्राधिकरणका अधिकारीलाई भेटेर यसको कारण बुझ्न घटनास्थल आइपुगेको छु । अहिले विमानस्थल सञ्चालनमा आइसकेको छ । यो दुःखद घडीमा सबैलाई धैर्य रहन अनुरोध गर्दछु ।”