‘रेकर्ड ब्रेक’ वर्षापछि विस्थापित परिवार बादल देख्दा पनि तर्सिन्छन्



कञ्चनपुर । वेदकोट नगरपालिका–७ शान्तिटोलकी ६५ वर्षीया शान्ती धामी दुई साताअघिदेखि गाउँ नजिकैको विद्यालयमा आश्रय लिएर बस्दै आएकी छन् ।    

असार २३ गते राति कनकट्टी खोलामा आएको बाढीले घरभित्रको सबै सामान बगाएर लगेपछि धामी विद्यालयमा बस्दै आएकी हुन् । खोलाको बाढी बस्तीमा छिरेपछि रातीका बेला घर छाड्न बाध्य भएका यहाँका ७९ परिवारमध्ये आठ परिवार वडाका दुईवटा विद्यालयमा आश्रय लिएर बस्दै आएका छन् । बाढीको पानी घटेपछि ७१ परिवार भने घर फर्किसकेका छन् । आठ परिवार भने बाढीबाट घरबारविहीन भएकाले अझै पुनर्वास हुनसकेका छैनन । विद्यालयमा छुट्टीको समय भएकाले बाढी प्रभावित परिवारलाई अस्थायी रुपमा बस्ने प्रबन्ध गरिएको छ । यी परिवारलाई नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न, भाँडाकुँडा र त्रिपालको व्यवस्था गरेको छ । 
 
पशुपति आधारभूत विद्यालयमा बस्दै आएका रामसिंह नायकले बाढीको पानीले घरसहित सबै समान बगाएर लगेपछि विचल्लीमा परेको बताए । “शरीरमा लगाएको एकसरो लुगामात्रै बाँकी छ । अरू सबै बाढीले लग्यो”, उनले भने, “राहतका रूपमा उपलब्ध गराइएको खाद्यान्न सबै सकिने अवस्थामा छ, थप राहत पाइएको छैन ।” 


बाढीपीडित वसन्ती कुँवरले बाढीका कारण लालाबालासहित असार २३ गते राति घरछोडेकामा पुनः फर्किने अवस्था नरहेको पीडा सुनाइन् । “रातिका बेला पानी परिरहेको थियो, अचानक खोलाको बहाव बढ्न थाल्यो, हेर्दाहेर्दै घरभित्रै पानी पस्यो, हतारमा बालबालिका बोकेर राति १० बजे घर छाडेर भाग्यौँ”, उनले भनिन्, “घरभित्रको अन्न, लुगाफाटो, खाना बनाउने ग्यास सिलिन्डर, खाद्यान्न केही झिक्न पाएनौँ, सबै बाढीले बगाएर लग्यो ।”

स्थानीय मञ्जु पार्कीले बर्सौदेखि बस्दै आएको स्थानमा यति ठूलो वर्षा र बाढी यसअघि कहिल्यै नदेखेको बताइन् । बाढी बस्तीमा पसेपछि धेरैको बिचल्ली भएको उनको भनाइ छ । 

बाढीपीडित स्थानीय भुवन दमाईंले त्यो रात सम्झिदा अहिले पनि आकासमा बादल देख्दासमेत त्रसित हुने अवस्था रहेको सुनाए । उनले भने,“त्यो रातिको वर्षा र बाढीको डरले सताउन छाडेको छैन, आकासमा बादल लागे अझै डराउनुपर्ने अवस्था छ । त्योभन्दा बढी चिन्ता अब फेरि कसरी घर जाने र के खाने भनेर लाग्छ किनकि घर बगाएको छ, अन्नपात सबै बाढीले बगाएको छ ।”

घरको अन्न मात्रै होइन खेतमा रोपेको धानसमेत बालुवा पुरिएको छ । खेत बगरमा परिणत भएको छ । विद्यालयको छुट्टीका कारण यहाँ आश्रय लिइरहे पनि केही दिनपछि पुनः पढाई सुरू भएपछि थप समस्या हुने पीर बाढीपीडितलाई छ । 

वडाध्यक्ष थानेश्वर भट्टकानुसार असार २३ गते रातिको विनाशकारी बाढीबाट प्रभावित ७९ परिवारमध्ये २२ परिवार पूर्ण रूपमा विस्थापित भएका छन्, आठ परिवारको घरजग्गा केही पनि बाँकी छैन । यी परिवारको व्यवस्थापनका लागि छलफल चलिरहेको उनले बताए ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार असार २३ र २४ गतेको २४ घण्टामा शान्तिपुरसँगै जोडिएको सुन्दरपुरलगायत क्षेत्रमा ‘रेकर्ड ब्रेक’ (अति भारी) वर्षा भएको थियो । त्यस क्षेत्रमा पाँच सय ५६ दशमलव चार मिलिलिटर वर्षा मापन गरिएको थियो । सोही वर्षाका कारण पूर्वपश्चिम राजमार्गको सुँडाखण्डमा रहेको कल्र्भट बगेको थियो । हाल बगेको कल्भर्टको छेउमा डाइभर्सन निर्माणगरी अस्थायी रूपमा सवारीसाधन सञ्चालनको व्यवस्था गरिएको छ ।