रुसी सेनाबाट उद्धारका लागि ३२३ जनाको निवेदन, ११६ जना सम्पर्कविहीन



काठमाडौँ । रुस-युक्रेन युद्धमा परेका ३ सय २३ जना नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको छ । सम्पर्कमै नरहेको भनी खोजी र फिर्ताका लागि निवेदन दिएको सङ्ख्या ११६ जना रहेको परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिएकी हुन् ।

बुधबार सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा बोल्दै परराष्ट्रमन्त्री राणाले उद्धारका लागि उच्च कूटनीतिक तहमा निरन्तर पहल भइरहेको बताइन् । उनले मस्कोस्थित नेपाली राजदूतावासले समन्वय गरी रुसी सेनाबाट नेपाल फर्काउन पहल भइरहेको पनि जानकारी दिइन् । 


हालसम्म रुसी सेनामा ज्यान गुमाएकाको सङ्ख्या ३४ जना रहेको र डीएनए परीक्षणका लागि दिइएको सङ्ख्या २२ रहेको उनले उल्लेख गरिन् । युक्रेनमा ६ जना युद्धबन्दी रहेको उनले बताइन् ।

त्यस्तै घाइते भई उपचाररत ५ जनामध्ये एक जना नेपाल फिर्ता भइसकेको उनको भनाई थियो । रुस पुगेकामध्ये १५० जना नेपाल फर्किसकेको परराष्ट्रमन्त्री राणाले बताइन्।