काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
अधिवक्ताद्वय हरिबहादुर केसी र खुशलराम धितालले हालेको मुद्दामा सुनुवाई गर्दै अदालतले २७ गतेदेखि निष्काशन गर्न लागेको रिलायन्सको आईपीओ तत्कालका लागि रोक्न आदेश दिएको हो।
अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्डलगायत विपक्षी बनाइएको रिलायन्सको आईपीओ निष्काशन विरुद्धको सो मुद्दा अधिवक्ताहरू डा अवतार न्यौपाने, डा केशव प्रसाद श्रेष्ठ, वाशुदेव रिजाल र रपिश पोखरेलले बहश गरेका थिए ।
अब विपक्षीहरु जवाफसहित अदालतमा हाजिर हुनेछन् । त्यसपछि अदालतले थप आदेश गर्नेछ । रिलायन्सको आईपीओबारे अदालतले सम्पूर्ण प्रक्रिया नै पनि बदर गर्न सक्नेछ । संस्थागत लगानीकर्तासँग मिलेर रिलायन्स स्पिनिङ्गको मूल्य अत्यधिक बढाइएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ भने आम शेयर लगानीकर्ताले समेत मुल्यमा प्रश्न गर्दै आएका छन्।
सार्वजनिक लेखा समितिले प्रश्न उठाएको तथा अदालतबाट पनि अन्तरिम आदेश आउने सम्भावना देखेको धितोपत्र बोर्डले सो आईपीओ निष्काशनको प्रक्रिया यसअघि नै रोकिसकेको छ।