मोलुङको गौरीडाँडामा पहिरोले पाँच परिवार विस्थापित, २३ जोखिममा



ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोले पाँच परिवार विस्थापित भएका छन् । अविरल वर्षाका कारण आज बिहान गएको पहिरोले मोलुङ गाउँपालिका–७ जेसे गौरीडाँडाका पाँच परिवार विस्थापित भएका र २३ परिवार जोखिममा परेका हुन् । 

पहिरोका कारण स्थानीय टेकबहादुर पहरी, पेशलबहादुर पहरी, मानबहादुर पहरी, अम्बरबहादुर पहरी र तेजबहादुर सुनुवारको घरमा क्षति भई उच्च जोखिममा रहेकाले पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए । सोही स्थानका अन्य २३ घर पनि जोखिममा छन् । जोखिमयुक्त घरपरिवारलाई सरसामान, पशुचौपायासहित सुरक्षित ठाउँमा सार्ने प्रयास भइरहेको उनले बताए । 


पहिरोका कारण सोही वडाको रतनेमा पनि घर जोखिममा परेका छन् । पहिरोले स्थानीय पेम्बा तामाङको गोठमा बाँधेका दुईवटा भैँसी, दुई राँगा र स्थानीय मिनबहादुर तामाङको गोठ पुरिँदा एउटा राँगो पुरिएकामा उद्धार गरी सुरक्षित ठाउँमा राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । 

उनका अनुसार रतनेका भक्तबहादुर तामाङ, सिंहबहादुर तामाङ, महिरानी तामाङ, पेम्बा तामाङ र मिनबहादुर तामाङको घर पहिरोको जोखिममा रहेकाले पीडित परिवार, पशुचौपाया र सरसामान सुरक्षित स्थानमा सार्ने प्रयास भइरहेको छ । 

पहिरोले स्थानीय भुलभुले खोलाबाट पेल्टीसेटमार्फत निकालिएको विद्युतमा पनि क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । यहाँ यस वर्ष पहिरोले घर पुरिँदा एक जनाको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here