माण्डवीगङ्गा किनारमा बीस हजार बिरुवा रोपिँदै



महोत्तरी । महोत्तरीको प्रसिद्ध धार्मिकस्थल टुटेश्वरधाम नजिकैको माण्डवीगङ्गा (मडहा) नदी किनारको उकास जग्गा नयाँ बिरुवाले भरिँदैछ । नदी उकासको करिब १३ हेक्टर जग्गामा बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयले वृक्षरोपण थालेको छ । यहाँ बीस हजार नयाँ बिरुवा धमाधम रोपिँदै छन् ।

राष्ट्रिय गौरवको आयोजना बर्दिबास मेडिकल कलेज निर्माण प्रक्रिया अघि बढाउन अहिले सघन वृक्षरोपण थालिएको हो । कलेज निर्माणका लागि प्रस्तावित ठाउँ बर्दिबास–४ माइस्थानको अटाबे खोल्सीदेखि पूर्व र भब्सीखोलादेखि पश्चिमको सामुदायिक वन क्षेत्रको ५४.५८४ हेक्टरमा रहेका एक हजार नौ सय ६७ रुख कटान गर्नपूर्व सो सङ्ख्याको १० गुणा बढी रुख रोप्नुपर्ने सर्वोच्च अदालत र नेपाल सरकारको निर्देशानुसार माण्डवीगङ्गा तटको नदी उकास जग्गामा वृक्षरोपण गरिँदैछ ।


शनिबारदेखि उक्त अभियान थालिएको हो । हालसम्म पाँच हजारभन्दा बढी बिरुवा रोपिएका छन् । यही महिनाभित्र बीस हजार बिरुवा रोपीसक्ने बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालयका प्रमुख देवीप्रसाद सुवेदीले जानकारी दिए ।

यसअघि वनक्षेत्रमा कलेज निर्माण रोक्न भन्दै सर्वोच्चमा २०७८ मा परेको रिट अदालतले २०८० जेठ २९ गते खारेज गरेको थियो । सर्वोच्चले मुद्दा खारेज गरेसँगै गत माघ ३ गते मन्त्रिपरिषद्ले अदालतको आदेशानुसार रुख काट्न स्वीकृति दिँदै सोपूर्व नयाँ वृक्षरोपण गर्न निर्देश गरेको थियो ।

“हामीले सर्वोच्च अदालत र मन्त्रिपरिषद्को निर्णय बमोजिम काम अघि बढाउन वृक्षरोपण थालेका छौँ”, प्रमुख सुवेदी भन्छन् ।

बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षत्रीले अब कलेज निर्माण प्रक्रियाले गति लिने विश्वास व्यक्त गरे । “अब कलेजको पूर्वाधार निर्माण कार्य अघि बढाउन अड्चन छैन”, उनले भने ।