बैठकको प्रत्यक्ष प्रसारण नगरेपछि रास्वपा महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा उपस्थित



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकालले केन्द्रीय समिति बैठकमा साङ्केतिक रूपमा मुखमा टेप टाँसेर विरोध जनाएका छन् ।

बुधबारको केन्द्रीय समिति बैठकमा उनले मुखमा कालो टेप टाँसेर विरोध जनाएका हुन् । उनले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्न माग गर्दै आएका थिए ।


तर आफ्नो माग सुनुवाइ नभएपछि उनले विरोधस्वरुप मुखमा कालो टेप टाँसेर बैठकमा सहभागिता जनाएका हुन् । महामन्त्री ढकालले केही दिनअघि पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउँदै एमाले र माओवादीसँग सहकार्य गर्नु गलत भएको बताएका थिए ।

प्रतिवेदनमा काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्नुपर्नेलगायतका विषय उल्लेख छन् । ढकालले पार्टी यसैगरी चलाए २०८४ सालमा विवेकशील साझाको अवस्थामा पुग्ने चेतावनी दिएका थिए ।

उनले पार्टीप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले त्यसलाई चिर्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

तर पार्टीको आन्तरिक कुरा मिडियावाजी गरेको भन्दै ढकाललाई स्पष्टीकरणसमेत सोधिएको छ । त्यसपछि पार्टीभित्र महामन्त्रीको ढकालको आलोचना भइरहेको छ । उनले यो प्रतिवेदन बुझाएपछि आफू पार्टीबाट निकालिनसक्ने समेत बताउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here