बेपत्ता चार जनाको शव फेला, बाढीमा फसेका पाँचको उद्धार



काठमाडौँ । विपद् उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नेपालको टोलीले आज देशका विभिन्न क्षेत्रबाट बेपत्ता भएका चार जनाको शव निकालेको छ भने बाढीमा फसेका पाँचको उद्धार गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय काठमाडौँका अनुसार कास्की, मुस्ताङबाट बेपत्ता चार जनाको शव निकालेको हो भने कैलालीबाट पाँच जनाको सकुशल उद्धार गरेको हो ।


सशस्त्रका केन्द्रीय प्रवक्ता सशस्त्र प्रहरी नायब महानिरीक्षक कुमार न्यौपानेले अहिले पनि देशका विभिन्न जिल्लामा गोताखोरसहितका विपद उद्धार टोली परिचालन गरी आवश्यक उद्धार तथा खोजी जारी राखेको जानकारी दिए ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक काठमाडौँका अनुसार कास्कीको पोखरा महानगरपालिका–२३ घाँटीछिनास्थित हर्पन खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई जना र मुस्ताङमा माटोको ढिस्कोमा पुरिएका दुई गरी चार जनाको शव आज निकालिएको हो ।

घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ कालिका गणबाट गएको गोताखोरसहितको टोलीले शव फेला पारेको हो । यसैगरी मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका–५ धुम्वा तालस्थित नाली बनाउने ट्रयाक खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका दुई जनाको आजै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा शव निकालिएको छ । उक्त घटानबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नं ३३ गुल्मबाट खटिएको सुरक्षा फौज खोजी कार्यमा जुटेको थियो । 

आजै वर्षासँगै मोहना नदीमा आएको बाढीमा फसेका पाँच जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ । कैलालीको धनगढी उपमहानगरपालिका–१८ नोक्लिपुरबाट नदी पार गरी घाँस काट्न गएका उनीहरू सो नदीमा पानीको बहाव बढेपछि अलपत्र परेका थिए ।

उनीहरू नदीपारी अलपत्र परेको भन्ने जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट फूलबारीबाट खटिएको सुरक्षा फौजले र्याफ्ट बोटको प्रयोग गरी सकुशल उद्धार गरेको हो ।

यसैगरी सोही उपमहानगरपालिका–१५ स्थित कनरी गाउँमा खटिया नदीमा पानीको बहाव बढ्न गई डुबानमा परेका ७ परिवारलाई सोही बिओपीबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा सारेको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले आज साँझ एक सूचना जारी गरी जानकारी दिएको छ ।