बेचन झालाई थुनामुक्त गर्न माग गर्दै दायर बन्दीप्रत्यक्षीकरणको रिट न्यायाधीश ढुंगानाको इजलासमा



काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगि मानव तस्करी गरेको आरोपमा पक्राउ परेका बेचन झालाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

सो रिट सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासमा पेशी तोकिएको छ । थुनामा रहेका झाका छोरा दिव्यान्शु शेखर झाले गत असार ३० गते सर्वोच्चमा रिट हालेका थिए । सो रिट असार ३१ गते न्यायाधीश विनोश शर्मा र गत साउन ६ गते ढुंगानका कै इजलासमा पेशी परेको थियो । तर, आफू अनुकुलका न्यायाधीश नभएको भन्दै उनका कानून व्यवसायीले पेशी स्थगीत गरेका थिए । २ पटक स्थगित भईसकेको हुँदा आज भने स्थगित गर्न मिल्नेछैन् ।


झा गत असार १५ गते राति पक्राउ परेका थिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधमा झाले बिचौलिया भूमिका निर्वाह गरेको आरोप छ । उनले गिरोहबाट २ करोड रुपैयाँ बुझेर बिचौलिया बनेको अनुसन्धानमा खुलेको प्रहरीको दाबी छ ।

२०७९ चैतमा शरणार्थी प्रकरणका आरोपीहरू पक्राउ पर्न थालेपछि झा फरार थिए । यस प्रकरणमा गत वर्ष नै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, बहालवाला सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल, पूर्वसांसद आङटावा शेर्पा, बिचौलियाहरू केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मासहित ३० जनाविरुद्ध राज्यविरुद्धको अपराधसहित ४ वटा कसुरमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा मुद्दा चलाएको थियो ।