बुटवल उपमहानगरको बजेट पारित



लुम्बिनी । बुटवल उपमहानगरपालिकाको पन्ध्रौँ अधिवेशनले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । यही असार ५ गते शुरू भएको अधिवेशनले नगर प्रहरी ऐन बनाएको छाडा चौपाया व्यवस्थापन र नियन्त्रणसम्बन्धी ऐन, पशु बधशाला सञ्चालन र व्यवस्थापन ऐन, जलस्रोत उपयोग ऐन, कृषि व्यवसाय प्रवद्र्धन ऐन, सहकारी ऐन, शिक्षा ऐन संशोधन गरेको छ ।

बुटवलको नगरसभाले लोकसेवा आयोगबाट नगर प्रहरीको भर्ना लिने गरी नगर प्रहरी ऐन बनाएको छ । यस्तै, अन्य ऐनहरु आवश्यकता र जनचाहनाबमोजिम संशोधन गरेको नगर प्रमुख खेलराज पाण्डेयले बताए ।


नगरसभाको शुक्रवारको चौथो बैठकले चालु आर्थिक वर्षमा न्यायिक समिति, लेखा समिति, अनुगमन समिति, आचारसंहिता अनुगमन समिति, जाँचपास तथा फरफारक समिति, विधायन समिति, सुशासन समितिको वार्षिक प्रतिवेदन पारित गरेको छ ।

बैठकले अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) छलफलसहित सर्वसम्मतिले पारित गरेको छ । यही असार ९ गतेको बैठकमा उपप्रमुख सावित्रादेवी अर्यालले रु दुई अर्ब ९९ करोड २२ लाख बराबरको बजेट प्रस्तुत गरेकी थिइन् ।  

उपप्रमुख अर्यालले १५औँ अधिवेशनको तेस्रो बैठकमा प्रस्तुत गरेको बजेटअन्तर्गत चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पुँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमान गरिएको छ ।

बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट रु ८५ करोड राजस्व सङ्कलन गर्ने अनुमान गरेको छ । बजेटमा उल्लेख भएअनुसार बुटवलले आगामी आर्थिक वर्षमा वडा नं १३ र १७ मा निर्माण सम्पन्न भएका अस्पताल सञ्चालन गर्ने गरी बजेट ल्याएको छ ।  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here