बिपी कोइराला लोकतान्त्रिक समाजवादी चिन्तनधाराका गुरु : संस्कृतिमन्त्री पाण्डे

काठमाडौँ, ६ साउनः संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे आइतबार बालुवाटारमा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयद्वारा आयोजित वीपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहलाई सम्बोधन गर्दै । तस्बिरः चन्द्रकला क्षेत्री÷रासस


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डययनमन्त्री बद्रीप्रसाद पाण्डेले बिपी कोइराला लोकतान्त्रिक समाजवादी चिन्तनधाराका गुरुका रुपमा स्थापित भएको बताएका छन्।

प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० समर्पण समारोहमा उनले समाजवादोन्मुख संविधानको परिकल्पनाकार पनि बिपी नै रहेको बताए ।


विसं २००७ मा संविधानसभाबाट बन्ने संविधानमा यस्तो व्यवस्था गर्ने बिपीको सपना करिब सात दशकपछि मात्र पूरा भएको मन्त्री पाण्डेले उल्लेख गरे । राजनीति र साहित्य दुवै क्षेत्रमा योगदान गरेका बिपीलाई यही चिन्तनले असल बन्ने धरातल निर्माण गरिदिएको उनको भनाइ छ ।

प्रथम जननिर्वाचित प्रधानमन्त्री भएका बेला २०१६ सालमा बिपीको पहिचान सात समुद्र पारिसम्म भएको सुनाउँदै मन्त्री पाण्डेले सोसलिस्ट इन्टरनेशनलले बिपीलाई उपाध्यक्ष बनाएको जानकारी दिए । समानता र स्वतन्त्रतालाई सँगसँगै लिएर जाने, देश तथा विश्वमै बढी खुसी हुनेमा बिपी पर्ने उल्लेख गदैँ उनले बिपीको विचार पनि त्यहीअनुसार रहेको बताए । वर्तमान संविधानमा पनि यो भावना प्रतिविम्बित भएकाले यसको कार्यान्वयन हुनुपर्नेमा पनि उनले जोड दिए ।

“देशमा छाएको निराशा चिर्न, अर्थतन्त्रलाई मजबुत बनाउन भ्रष्टाचारको अन्त्य गर्न ब्रह्मास्त्रको प्रयोग गर्नका लागि जोखिम मोलेर दुई ठूला दल एक ठाउँमा उभिएका हौँ, यसको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले गरिरहनुभएको छ”, मन्त्री पाण्डेले भने ।

पूर्वमन्त्री एवं सांसद ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सहमति सत्ता, शक्ति र प्रतिशोध साँध्न नभई विद्यमान समस्या समाधान गर्दै देश विकास गर्ने रहेको बताए । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका बिपीले १८ महिने कार्यकालमा १५ वर्षभित्र सबै नेपालीलाई आफूले यापन गरिरहेको जीवनशैलीमा पु¥याउने उद्घोषका साथ काम सुरु गरेपछि नेपाली सेनाको शक्तिका भरमा अपदस्त गरिएको उनले जानकारी दिए ।

मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेयले बिपी कोइराला राष्ट्रिय पुरस्कार, २०८० राजनीतिक दर्शन विधातर्फ दुई जनालाई संयुक्तरुपमा र साहित्यिक विधातर्फ पनि दुई जनालाई संयुक्त रुपमा वितरण गरिएको जानकारी दिए ।

पुरस्कारबाट राजनीतिक दर्शन विधातर्फ किशोरकुमार अधिकारी र होमनाथ दाहाललाई पुरस्कृत गरे । संयुक्त रुपमा प्रदान गरिएको पुरस्कारको राशि दुई लाख नगद, प्रमाणपत्र र दोसल्ला छ ।

यसैगरी साहित्यिक विधातर्फको बिपी कोइराला राष्ट्रिय पुरस्कार प्रा डा योगेन्द्रप्रसाद यादव र प्रा डा हरिप्रसाद शर्मा पराजुलीलाई प्रदान गरिएको थियो । पुरस्कारको राशि दुई लाख नगद, प्रमाणपत्र र दोसल्ला रहेको छ । मन्त्रालयको संस्कृति महाशाखाको व्यवस्थापनमा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने गरिएको छ ।