बिग्रिएको सम्बन्ध पुनःस्थापना गर्न ईयू र बेलायतबिच वार्ता



बेलायतमा नयाँ सरकार गठन भएसँगै ब्रेक्जिटपछि खस्किएको युरोपेली सङ्घ (ईयू) र बेलायतबीच सम्बन्ध पुनःस्थापना गर्ने उद्देश्यले दुई पक्षका शीर्ष अधिकारीहरूले सोमबार ब्रसेल्समा पहिलोपटक वार्ता गरेका छन्।

बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टार्मरले युरोपेली सङ्घसँगको वर्षौंदेखि विवादित रहेको सम्बन्धलाई सुधार्ने वाचा गरेका छन्।


यसै सन्दर्भमा ईयू सम्बन्धका लागी बेलायतका मन्त्री निक थोमस–साइमन्ड्सले ईयूका मारोस सेफकोभिकसँग वार्ता गरेका हुन्। ‘हामीले सम्बन्ध पुनस्थापना गर्ने कुरा गर्दा सुरक्षित र अधिक समृद्ध युरोप सिर्जना गर्न सुरक्षा र आर्थिक सहयोगलाई सुदृढ पार्ने बारेमा छलफल गर्यौं,’ थोमस–साइमन्ड्सले समाजिक सञ्जाल एक्समार्फत बताए।

सेफकोभिकले बैठकलाई रचनात्मक भएको बताए। ‘हाम्रो सहकार्यको लागि तत्पर छौँ,’ उनले भने।

बेलायतका नयाँ प्रधानमन्त्रीले युरोपेली सङ्घसँगको व्यापार द्वन्द्व कम गर्ने वाचा गरेका छन्। तर आफ्नो सरकारले ब्रेक्सिटलाई नउल्टाउने र युरोपेली एकल बजारको हिस्सा नबन्ने कुरामा अडिग रहेको जानकारी दिए।

युरोपियन सङ्घले सम्बन्ध सुधारको उद्देश्यले लन्डनबाट आएको प्रस्तावमा विचार गर्न इच्छुक रहेको बताएको छ। साथै बेलायतलाई सङ्घबाट बाहिर निस्कन कठिन ढङ्गले भएको वार्ताका सम्झौताहरू पुनः खोल्न इच्छुक नरहेको जनाएको छ।

प्रधानमन्त्री स्टार्मरले बिहीबार बेलायतको ब्लेनहेम प्यालेसमा हुने बैठकमा युरोपभरका नेताहरूलाई आमन्त्रित गरेका छन्। उक्त सम्मेलनले नयाँ प्रधानमन्त्रीलाई युरोपेली सङ्घका समकक्षीहरूसँग आफ्ना विचारहरू प्रस्तुत गर्ने प्रमुख मञ्च प्रदान गर्नेछ।