‘बाबुरामः अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक



काठमाडौं । नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ ।

‘द राइजिङ नेपाल’का पूर्वसम्पादक डा मुक्ति रिजालले लेखेको उक्त पुस्तकको आज पूर्वप्रधानमन्त्री भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री सुमना श्रेष्ठले संयुक्त रुपमा विमोचन गरेका हुन् ।


पुस्तकमा माओवादी आन्दोलनमा डा भट्टराईको भूमिका, माओवादी छाडेपछिको अवस्था र वैकल्पिक शक्ति निर्माणको अभियानसम्मका गतिविधि विभिन्न १७ वटा आलेखमा समेटिएका छन् । अङ्ग्रेजी भाषमा लेखिएको सो पुस्तक एक सय २५ पृष्ठको छ । उक्त पुस्तकको मूल्य रु तीन सय ५५ तोकिएको छ ।

सो अवसरमा डा भट्टराईले आफू फरक पृष्ठभूमिबाट आएको भए पनि सोच, विचार र शैलीले नयाँ रहेकाले पुरानाको कार्यशैलीको सम्मान गर्दै नयाँमा टेकेर राजनीतिक दल अगाडि बढ्नुपर्ने बताए । “म माओवादीबाट एक्लै निस्किएको हो । वैकल्पिक शक्ति निर्माण गर्ने सकारात्मक सोचका साथ अघि बढेको हो”, अध्यक्ष डा भट्टराई भने, “मैले कसैलाई छाडेको पनि होइन, गाली गरेको पनि होइन ।” वैकल्पिक पार्टी बन्न वैकल्पिक सोच र कार्यक्रम आवश्यक पर्नेमा उनले जोड दिए ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा दुई ठूला दल सरकार सञ्चालनमा केन्द्रित हुँदा प्रतिपक्षमा रहेका दलहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताए । वर्तमान सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको उल्लेख गर्दै उनले भने, “सरकारले गलत काम गरेमा कांग्रेस मौन बस्दैन ।”