बागमती सरकारबाट बाहिरियो एमाले, ५ मन्त्रीले बुझाए राजीनामा



काठमाडौं । सत्ता समीकरणमा फेरबदल आएसँगै नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सोमबार एमाले बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियासहित पाँच जना मन्त्रीहरूले हेटौंडा-२, स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर समर्थन फिर्तासहित संयुक्त राजीनामा बुझाएका छन् ।


शुक्रबार नै सरकारलाई दिएको समर्थन फिर्ता र मन्त्रीहरूले राजीनामा बुझाउने तयारी गरे पनि जम्कट्टेल काठमाडौंमा रहेका कारण सम्भव नभएको एमालेले जनाएको छ ।

जम्कट्टेल नेतृत्वको सरकारमा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा जगन्नाथ थपलिया, वन तथा वातावरण मन्त्रीमा केशव प्रसाद पोखरेल, स्वास्थ्यमा रामेश्वर श्रेष्ठ, खानेपानी,ऊर्जा तथा सिंचाई मन्त्रालयमा एकलाल श्रेष्ठ र उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयमा प्रकाश श्रेष्ठ रहेका थिए ।

१७ असारमा कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार दुई ठूला दलले ३-३ प्रदेशको सरकारको नेतृत्व गर्ने छन् । कांग्रेसले बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्नेछ ।

पहिलो दल बनेको प्रदेशमा कांग्रेसले सरकार बनाउने गरी सहमति बनेको छ । दुई ठूला दलको सत्ता सहकार्यले बागमतीमा पहिलोपटक कांग्रेसले सरकारको नेतृत्व गर्ने भएको छ । यसअघि सत्ता साझेदार बनेपनि कांग्रेसले बागमतीमा नेतृत्वको अवसर पाएको थिएन् । कांग्रेसका बागमती प्रदेश सभामा हाल ३७ सांसद छन् । कांग्रेसनैप्रदेश सभाको पहिलो ठूलो दल हो । केन्द्रको सहमति अनुसार बागमतीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बन्नेछन् ।