बागमतीले आज नयाँ मुख्यमन्त्री पाउने, कांग्रेस र एमालेबीच टुंगियो मन्त्रालय भागबन्डा



काठमाडौं । बागमती प्रदेशले मंगलबार नयाँ मुख्यमन्त्री पाउँदैछ । मुख्यमन्त्रीमा कांग्रेस प्रदेश संसदीय दलका नेता बहादुर सिंह लामा मंगलबार आज मुख्यमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।

लामाले आज मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुखले पनि आजै नियुक्त गर्ने तयारी छ । कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिनेगरी दुई दलबीच सहमति भएसँगै मुख्यमन्त्री नियुक्तिको प्रक्रिया सुरु भएको हो ।


दुई दलबीच मन्त्रालय भागबण्डामामा सहमति जुटेपछि लामाले आज दाबी पेश गर्ने भएका हुन् । बिहान ११ बजे कांग्रेस संसदीय दलका नेता लामाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने कांग्रेसले जनाएको छ ।

शालिकराम जम्कट्टेलले पदबाट आइतबार राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले सोही दिन आजसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि आह्वान गरेका थिए ।

सोही आह्वान अनुसार लामाले एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने र प्रदेश प्रमुख शर्माले आजै साँझ लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी छ ।

१३ सदस्यीय मन्त्रिपरिषद् रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा र एमालेले ६ वटा मन्त्रालय लिने भएको छ ।

कांग्रेसले मुख्यमन्त्रीसँगै यसअघि माओवादीले सम्हालेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय र सामाजिक विकास मन्त्रालयसहित संस्कृति, पर्यटन तथा सहकारी, युवा तथा खेलकुद र श्रम रोजगार तथा यातायात मन्त्रालय लिएको छ ।

त्यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ ।

दुवै दलले आज मन्त्रीहरुको नाम टुंगो लगाएर भोलि बुधबार मुख्यमन्त्रीसहित १३ मन्त्रीहरुको एकै पटक सपथ गराउने गरि गृहकार्य भइरहेको नेताहरुले बताएका छन् ।