प्रधानमन्त्री ओलीको निर्देशनः धराहरा छिटो सञ्चालनमा ल्याउनु



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज जारी बैठकमा प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानुनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न निर्देशन दिएका हुन् ।


उनले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि निर्देशन दिए । नागरिकका लागि सहज सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न उनको निर्देशन थियो । प्रधानमन्त्री ओलीले हरेक दिन, हप्ता, महिना, त्रैमास, अर्धवार्षिक, वार्षिक र आवधिक योजना र लक्ष्य निर्धारण गरेर अघि बढ्न निर्देशन दिए ।

साथै, धराहरा छिटो सञ्चालनमा ल्याउन पनि प्रधानमन्त्री ओलीले निर्देशन गरेका छन् । धरहरा बनिसकेको छ पार्किङको व्यवस्थापन नहुँदा सञ्चालनमा नआएको भन्दै उनले पार्किङको शुल्क लिएर भए पनि सञ्चालन गर्नुपर्ने बताएका छन् । ‘मै बनाउँछु मेरो धरहरा अभियानमा नेपाली जनताले करोडौँ रकम पनि दिएका थिए । यसको पुनर्निर्माणमा जनताको सहभागिता छ तर जनताले धरहरा चढ्न पाएनन् । कसरी हुन्छ छिटो सञ्चालनमा ल्याउन निर्देश गर्छु,’– निर्देशनमा उनले भनेका छन् ।