प्रतिनिधिसभा : ‘सामुदायिक विद्यालयको शिक्षा खस्कियो’



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर बढाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् ।

आजको बैठकको विशेष समयम सांसद विद्या भट्टराईले एसइई परीक्षाको नतिजा खस्कनुमा मुलुकको शिक्षा प्रणाली, पठन पद्धति र संरचनागत कमीकमजोरी भएको बताइन् ।


उनले सामुदायिक विद्यालयको शिक्षा गुणस्तर खस्कँदो रहेको बताउँदै सामुदायिक विद्यालयमा मागअनुसार दरबन्दी नहुनु, भौतिक पूर्वाधार तथा आवश्यक स्रोत साधनको अभावले मुलुकको समग्र शिक्षाको गुणस्तर कमजोर बनिरहेको उल्लेख गरिन् । उनले शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री र उत्पादनमुखी बनाउन जरुरी रहेकामा जोड दिइन् ।

सांसद डा चन्द्रकान्त भण्डारीले एसइई परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण भएको भन्दै उनीहरुलाई सीपमूलक तालिमलगायत प्रोत्साहनमूलक काम दिएर सरकारले आशातीत बनाउनुपर्ने माग गरे । उनले विद्यालय शिक्षा र विश्वविद्यालय शिक्षाको गुणस्तर सुधार्न सरकारले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।

सांसद भण्डारीले मुलुकमा भ्रष्टाचार र अनियमितता हुनुमा योजनाविद् र विकासविद्हरु पनि रहेको भन्दै उनीहरुलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । शिक्षा, स्वास्थ्यलगायत अत्यावश्यक सेवा क्षेत्रमा बन्द हडताल गर्नेलाई कानुनी दायरामा ल्याइनुपर्ने उनको भनाइ छ ।

सांसद शिव नेपालीले शिक्षा क्षेत्रको अनियमितताको अन्त्य गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न सरोकार भएकाको ध्यानाकर्षण गराए । उनले विश्वविद्यालयमा राजनीतिकरणले शिक्षाको गुणस्तर खस्केको दाबी गर्दै यसलाई सुधारेर गुणस्तरीय र व्यावहारिक शिक्षा अपनाइनुपर्नेमा जोड दिए ।

सांसद ज्ञानबहादुर शाहीले देश विकासका लागि जननिर्वाचित सांसद र जनप्रतिनिधिलाई स्वतन्त्र छाड्नुपर्ने जिकिर गरे । उनले काठमाडौँ महानगरभित्रको बजेट प्रभावकारी कार्यान्वयन हुन नदिन अवरोध खडा गरिएको भन्दै आपत्ति प्रकट गरे ।

सांसद रञ्जुकुमारी झाले मनसुनी वर्षाले देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानका घटना बढिरहेको बताउँदै सम्भावित जोखिम न्यूनीकरण गर्न र विपद् व्यवस्थापनको कार्यलाई चुस्त र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् । उनले राष्ट्रिय परिचयपत्र वितरणलाई सहज र प्रभावकारी बनाउन पनि माग गरिन् ।

सांसद अब्दुल खानले देशका विभिन्न ठाउँमा पुलपुलेसा निर्माणमा ठेकेदारले लापर्बाही गर्दा सर्वसाधरणका जनजीवन प्रभावित भएको, बाढी पहिरोका बेला पनि ढुङ्गामा चढेर नदी खोला पार गर्न र जीवन गुमाउन बाध्य भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

सांसद रेखा यादवले प्रदेश सरकारमा मन्त्रालय विभाजन गरेर भागबन्डा गरिएकोप्रति आपत्ति प्रकट गर्दै मुलुकको आर्थिक अवस्थालाई दृष्टिगत गरी यस्ता कार्य रोकिनुपर्ने बताइन् । उनले चुरे संरक्षण भइरहेको कार्यप्रगतिबारे सदनमा जानकारी दिन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद प्रभु साहले वैदेशिक रोजगार विभागको कामकारबाहीलाई चुस्त र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । ताहाचलस्थित विभागको कार्यालय जाने बाटोमा शान्तिपूर्ण कार्यक्रम गर्न नदिएको भन्दै वैदेशिक रोजगारीमा जाने युवाको न्यायका लागि शान्तिपूर्ण आवाज उठाउँदा बेवास्ता गरिएको उनले गुनासो गरे ।

सांसद प्रेम सुवालले सहकारी पीडितको माग सम्बोधन गर्न, डेङ्गु महामारी नियन्त्रण तथा सुनतस्करी नियन्त्रण गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । उनले एसइई परीक्षामा सामुदायिक विद्यालयका विद्यार्थीको नतिजा कमजोर रहेको भन्दै विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here