पृथ्वी राजमार्ग राति १० देखि बिहान ३ बजेसम्म बन्द हुने



काठमाडौं । सडक विभागले पृथ्वी राजमार्गअन्तर्गत नौबिसे मलेखु सडकखण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे  खोला र पोखरे खोलाका पुल मर्मत गर्नुपर्ने भएकाले राति १० देखि बिहान ३ बजेसम्म बन्द गर्ने भएको छ । 

सडक प्रयोगकर्तालाई हुनसक्ने जोखिम तथा यातायात आवागमनमा बाधा पर्न जाने देखिएकाले सम्भावित जोखिमलाई दृष्टिगत गरी उक्त सडक बन्द गर्ने निर्णय भएको विभागले जनाएको छ ।


‘गत बुधबारदेखि आगामी साउन ९ गतेसम्म हरेक दिन राति १० बजेदेखि बिहान ३ बजेसम्म सम्पूर्ण सवारीसाधनलाई (एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक) पूर्ण रूपमा रोकिने व्यहोरा जानकारी गराइन्छ’, विभागद्वारा जारी सूचनामा भनिएको छ ।

 विभागले वैकल्पिक मार्गका रूपमा गल्छी– विदुर– छहरे– टोखा सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।