पृथ्वीराजमार्गको मापदण्डभित्रका घरटहरा नभत्काए सुविधा रोकिने



तनहुँ। बन्दीपुर गाउँपालिका कार्यालयले पृथ्वीराजमार्गको सडक मापदण्डभित्रका घरटहरा तत्काल नहटाए सेवा सुविधा रोक्ने जनाएको छ।

घरधनीले स्वतःस्फुर्त रूपमा घरटहरा नभत्काए वडा कार्यालय र गाउँपालिकाबाट प्रदान गरिने सुविधा रोक्ने पालिकाले जनाएको हो।


गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले पटकपटक घरटहरा हटाउन सूचना प्रकाशन गरे केहीले अटेर गरेपछि यस्तो निर्णय गर्नुपरेको बताए।

‘यसअघि पटक–पटक सूचना प्रकाशन गरी सडक मापदण्डभित्रका संरचना हटाउन ताकेता गरे पनि केही घरधनीले अटेर गर्दै आएका छन्। त्यसैले तत्काल संरचना नहटाए वडा कार्यालय र गाउँपालिकाबाट सुविधा रोक्नुका साथै कानुनी कारबाहीका लागि प्रक्रिया अघि बढाउन थालेका हौँ’, उनले भने।।

पृथ्वीराजमार्गअन्तर्गत तनहुँमा दुई खण्डमा गरी सडक विस्तारको काम भइरहेको छ। सडक मापदण्डभित्रका संरचना नहटाइदिँदा सडक विस्तारका कार्य प्रभावित भएका छन्।