पूर्वाग्रह राखेर अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने निर्णय सच्याउन राष्ट्रिय कर्मचारी संगठनको माग



काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले विचार र आस्थाका आधारमा पूर्वाग्रह राखेर अवधि नपुगेका कर्मचारीको सरुवा गर्ने निर्णय सच्याउन माग गरेको छ ।

देशका सत्ता समीकरण फेरबदलसँगै पूर्वाग्रह राखेर कर्मचारी सरुवा गरिएकोमा आपत्ति जनाउँदै संगठनले शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवलाई ध्यानाकर्षण पत्र बुझाउँदै निर्णय सच्याउन र न्यायिक रुपमा निष्पक्ष ढंगले जनशक्ति व्यवस्थापन तथा सरुवा व्यवस्थापन गर्न माग गरेको हो । संगठनका अध्यक्ष अम्बादत्त भट्टको नेतृत्वमा गएको संगठनको टोलीले संघीय सचिव मुकुन्दप्रसाद निरौलालाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।


‘ट्रेडयुनियन आन्दोलन भित्र देखा पर्ने अराजकता र प्रशासकीय तहमा देखिने स्वेच्छाचारिता अन्त्य गरि सार्वजनिक प्रशासनभित्र सुशासन र पारदर्शिता कायम गर्नू नीतिगत घोषणा गर्ने एक मात्र संगठन हो’ विज्ञप्तिमा भनिएको छ ‘नेपालमा सरकारको नेतृत्व परिवर्तन भई सत्ता पक्ष र प्रतिपक्षमा रहने दलहरुको सहभागिता परिवर्तन हुने वित्तिकै विगत एक साता देखि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लगायतका निकायहरुवाट वैचारिक आस्थाको आधारमा निजामती सेवा ऐन, २०४९ तथा नियमावली, २०५० विपरित सेवा अवधि नपुगेका कर्मचारीको पुर्वाग्रह राखि सरुवा गर्ने, लामो समय देखि एउटै कार्यालयमा कार्यरत कर्मचारीलाई राजनीतिक दवाव भनेर ऐन, कानून र मापदण्ड विपरित सरुवा थमौति गर्ने, निजामती सेवा ऐन, २०४९ को दफा ५३ विपरित ट्रेडयुनियनका पदाधिकारीहरुको विचार र आस्थाका आधारमा पुर्वाग्रह राखि अवधि नपुग्दै सरुवा गर्ने गरेको कुरा जानकारी हुन आएको छ । यसरी राजनीतिक पहुच नभएका कर्मचारीलाई ऐन, कानून विपरित पुर्वाग्रह राखि अन्यायपुर्ण ढंगले गरिएका सरुवा सम्वन्धि काम कारवाही यथाशिघ्र सच्याउन जोडदार माग गर्दछौं । संघिय निजामती सेवा ऐन, जारी हुन नसकिरहेको संक्रमणकालिन अवस्थामा स्थानीय तहको पहिलो ढोकामा बसेर सेवा प्रवाह गरिरहेका कर्मचारी दोहोरो सहमती साथ प्रकृया पुर्याई दिएका हजारौं सरुवा निवेदनहरु यथास्थितिमा रहेकोले यथाशिघ्र सरुवा सम्बन्धी मापदण्ड बनाई उक्त निवेदनमा माग बमोजिम सरुवा व्यवस्थापन गर्न जोडदार माग गर्दछौं’ ।