पुनःनिर्माण सम्पन्न भए पनि काष्ठमण्डप अवलोकनका लागि अझै खुलेन



काठमाडौं। पुनःनिर्माण सम्पन्न भइसक्दा पनि ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ अवलोकन गर्न सर्वसाधारणका लागि अझै खुल्न सकेको छैन।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पले पूर्णरूपमा क्षति भएको काष्ठमण्डप पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत वर्ष असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्यसम्पन्न प्रतिवेदन बुझाइसकेको छ।


महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईका अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ।

प्रतिवेदन अध्ययनको काम पूरा भएसँगै काष्ठमण्डप सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्नेबारे यकिन हुने प्रमुख राईले बताउनुभयो । निर्माण समितिले बुझाएको प्रतिवेदनलाई प्राविधिक, आर्थिक र कानुनी पक्षबाट अध्ययन गर्ने काम भइरहेको छ।

विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समिति गठन भएको थियो।

काष्ठमण्डप पुनःनिर्माण गर्न २०७५ जेठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौं महानगरपालिकाले व्यहोर्ने निर्णय भएको थियो। यसका लागि २०७५ जेठ २९ गते कामपा र समितिबीच पुनःनिर्माणका लागि सम्झौता भएको थियो।

सम्झौतापछि काम सुरु गर्न कामपाले समितिलाई रु ५० लाख उपलब्ध गराएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते रु पाँच करोड, २०७६ माघ ९ गते रु पाँच करोड र २०७८ असार १६ गते रु एक करोड उपलब्ध गराएको प्रमुख राईले बताए।

पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराएको रु ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ। काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन तथा संरक्षण गर्न समितिले कामपालाई आग्रह गरेको छ। काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरूपमा पुनःनिर्माण गरिएको हो।