पाँचवटा संसदीय समितिको बैठक बस्दै,यस्ता छन् कार्यसूची



काठमाडौं । संघीय संसद अन्तर्गत आज पाँचवटा समितिका बैठक बस्दैछन् । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, विकास, आर्थिक मामिला तथा सुशासन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र महिला तथा सामाजिक मामिला समितिको बैठक बस्न लागेका हुन् । अहिले बिहान ११ बजे बस्ने शिक्षा, स्वस्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ ।

यस्तै, साढे ११ बजे बस्ने उद्योग तथ वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा सूर्ति, खैनी तथा गुट्खा उद्योगको पुँजी तथा क्षमता वृद्धिको सम्बन्धमा छलफल हुनेछ । यस्तै, झापा, सुनसरी र मोरङको स्थलगत अनुगमनको प्रतिवेदनमाथि छलफल, चिनी उद्योग तथा उखु किसानहरुका समस्या समाधान सुझाव उपसमितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ । यसैगरी, स्पन्ज आइरन, विलेट्सको भन्सार महशुल, अन्तःशुल्क तथा उद्योगहरुको अध्ययन अनुगमन उपसमितिको प्रारम्भिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।


बिहान साढे ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक कार्ययोजनाको प्रगति समीक्षा तथा समितिको वार्षिक प्रतिवेदन तयारी सम्बन्धमा छलफल हुनेछ ।

साढे ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आर्थिक वर्ष २०८०–०८१ को वार्षिक प्रतिवेदनका सम्बन्धमा छलफल हुनेछ । मध्याह्‍न १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राज्यको मूल प्रवाहमा आदिवासी जनजाति समुदायको समावेशिताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको भूमिका बारे छलफल हुने संसद सचिवालयले जनाएको छ ।