पहिरोमा परी तनहुँमा एकजनाको मृत्यु, तीन बेपत्ता, चार घाइते



तनहुँ । शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा परी शनिबार तनहुँमा एक जनाको मृत्यु भएको छ । पहिरोमा परी तीन बेपत्ता भएका छन् भने चार जना सख्त घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मृत्यु हुनेमा ऋषिङ गाउँपालिका–१ झापुटार निवासी ५० वर्षका कृष्ण बहादुर पुलामी रहेका छन् । ढुङ्गा लागेर सख्त घाइते पुलामीको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।


त्यसैगरी जिल्लाको शुक्लागण्डकी–७ काउरेमा पहिरोले पुरिँदा तीन जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ४० वर्षकी हिरा नेपाली, वर्ष ३७ की अनिशा बास्तोला र वर्ष ६५ का श्याम अधिकारी रहेका उनले बताए । पहिरोमा परी चार जना घाइते भएका छन् । उनीहरुको स्थानीय मेडिकलमा उपचार भैरहेको छ ।