नेपालगञ्जमा मोहरमलाई लक्षित गरेर निगरानी बढाइँदै



नेपालगञ्ज । मुस्लिम समुदायको मोहरमपर्वलाई लक्षित गरेर स्थानीय प्रशासनले नेपालगन्ज आसपासमा सुरक्षा व्यवस्था कडा बनाएको छ । ट्राफिक नियम उल्लंघन गरी मोटरसाइकल र स्कुटर चलाउनेमाथि निगरानी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए । 

उनले भारतबाट आवतजावत गर्ने सवारीसाधनको जाँच गरिएको र केही समयका लागि संवेदनशील क्षेत्रलाई निगरानीमा राखिएको बताए । चाडपर्वका समयमा उच्छृङ्खल व्यवहार नगर्न र घरेलु हतियार लिएर नहिँड्न सार्वजनिक अनुरोध गरिनुका साथै हेलमेट नलगाउने र होहल्ला गरी मोटरसाइकल, स्कुटर चलाउनेविरुद्ध विशेष अभियान चलाइएको प्रजिअ रिजालले बताए । 


जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले शान्तिसुरक्षाका लागि ट्राफिक नियमको पालना गराइएको बताए । उनले मोहरमपर्वलाई लक्षितगरी ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको र त्योसँगै ड्रोन क्यामेरामार्फत निगरानी भइरहेको बताए । 

गएको तीन दिनमा ट्राफिक नियम उल्लंघन गर्ने मोटरसाइकल र स्कुटर चालक एक सय २३ जना कारबाहीमा परेका छन् । वडा प्रहरी  कार्यालयका अनुसार बुधबार मोहरमपर्व समापन भइसकेपछि आवश्यक जरिवाना लिएर ती नियन्त्रणमा रहेका सवारीसाधन चालकलाई फिर्ता गरिने जनाइएको छ । 

मोहरमपर्व चलिरहेका बेला नेपालगञ्ज ११ टाँगा स्टेशन नजिक मोटरसाइकल र स्कुटरमा आएका व्यक्तिले धारिलो हतियारको प्रयोग गरेर एक जना युवकको हत्या गरेपछि प्रहरी प्रशासनले मोटरसाइकल र स्कुटरमा विशेष निगरानी बढाउनुका साथै घरेलु हतियार नबोक्न सूचना निकालेको हो ।  

जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना प्रकाशित गरेर मोहरमपर्वका बेला कसैले पनि उच्छृङ्खल व्यवहार गरेको, बिनाकाम राति हिँडेको, रडलगायत घातक घरेलु हतियार लिएको र मोटरसाइकल तीव्रगतिमा तथा नियम विपरीत चलाएको पाइएमा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।