नारायणी नदीको जलसतह खतराको बिन्दुमाथि



चितवन । निरन्तरको वर्षापछि नारायणी नदीले खतराको बिन्दु पार गरेको छ । देवघाटमा आज दिउँसो ४ः४५ मा जलसतह नौ दशमलव आठ मिटर मापन गरिएको छ ।

सात मिटर कटेपछि चेतावनी र नौ मिटर कटेसँगै खतराको तह मानिन्छ । बाढी पूर्वानुमान शाखा प्रमुख सुनिल पोखरेलका अनुसार आज दिउँसोबाट नारायणी नदी आसपास क्षेत्रका बासिन्दालाई सतर्क रहन मोबाइलमा सन्देश पठाइएको छ ।


एक लाख हाराहारीलाई सतर्क रहन सन्देश पठाइएको पोखरेलले जानकारी दिए । “निरन्तर वर्षा भइरहेको छ । नदीको जलसतहले दिउँसै खतराको तह पार गरिसकेको छ । त्यसकारण नदी आसपासका नागरिकलाई सतर्क रहन आग्रह गर्दछौँ”, पोखरेलले भने ।