नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ ग्रहण आइतबार हुने



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आईतबार मात्र नियुक्त गर्ने भएका छन् ।

शितल निवास स्रोतका अनुसार आइतबार ओलीलाई प्रधानमन्त्रीमा नियुक्ती गर्ने र सोही दिन साँझ नै सपथ हुने छ ।


शुक्रबार राति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित राष्ट्रपति कार्यालय शीतल निवास पुगेर ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए । ओलीले नेपाली कांग्रेसका ८८ र एमालेका ७७ गरी कुल १६५ सांसदको समर्थनमा दाबी पेश गरे ।

प्रतिनिधिसभामा प्रधानमन्त्री तथा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत नपाएर स्वतः पदमुक्त भएपछि राष्ट्रिपति पौडेलले संविधानको धारा ७६ (२)अनुसार नयाँ सरकार गठनका लागि आइतबार साँझसम्मको समयसीमा दिएर आज नै आव्हान गरेका थिए ।

नेपाली कांग्रेस र एमालेबीच गत असार १७ गते नयाँ समीकरणमा सहमति बनेसँगै प्रचण्डले संविधानको धारा १०० को उपधारा–२ अनुसार विश्वासको मत लिने निर्णय गरेका थिए ।

प्रधानमन्त्री बनेको १८ महिनामा पाँचौँ पटक विश्वासको मत लिँदा प्रचण्ड संसद्मा आफ्नो पक्षमा बहुमत जुटाउन असफल भए ।