दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न सरकारलाई एमालेको आग्रह



काठमाडौं । नेकपा एमालेले सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न आग्रह गरेको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेलले विज्ञप्ति जारी गरी सरकार अल्पमतमा परिसकेको भन्दै दीर्घकालीन असर पर्ने कुनै निर्णय नगर्न आग्रह गरेका हुन् ।

उनले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न समेत प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेका छन् ।


विज्ञप्तिमा भनिएको छ, ‘ससंसदका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस नयाँ सरकार गठनका लागि सहमत भएको अहिलेको परिस्थितिमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले विश्वासको मत पाउने अवस्था नरहेको हुँदा अल्पमतमा परेको सरकारबाट दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्न÷नगराउन नेकपा (एमाले) सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ को ध्यानाकर्षण गर्दछ । राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग गर्न पुनः अनुरोध गर्दछ ।’

कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि सहमति भइसकेको छ । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने बरु संसदको फेस गर्ने बताउँदै आएका छन् । सरकारमा सहभागी दल नेकपा एमालेका आठ मन्त्रीले बुधबार राजीनामा दिइसकेका छन् भने एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here