दक्षिण अफ्रिका : राष्ट्रपति रामाफोसाद्वारा गठबन्धन सरकार गठनको घोषणा



दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले विभिन्न राजनीतिक दलका मन्त्रीहरू सम्मिलित नयाँ राष्ट्रिय कार्यकारी मन्त्रीमण्डलको आइतबार घोषणा गरेका छन्।

प्रमुख विपक्षी दलले थप मन्त्रीपदको माग गरेपछि लामो वार्ता लगभग असफल भएको अनुमानहरू भइरहेका समय राष्ट्रपति रामाफोसाले अन्ततः लामो समयदेखि प्रतिक्षा गरिएको संयुक्त सरकार गठन प्रस्तावको घोषणा गरेका हुन्।


गत जुन १९ मा रामाफोसाले आफ्नो दोस्रो कार्यकालका लागि सपथ लिएको एक साताभन्दा बढी समयपछि यो घोषणा गरिएको हो।

निर्वाचनमा उनको दल अफ्रिकन नेशनल कङ्ग्रेस (एएनसी) ले सरकार गठनका लागि आवश्यक बहुमत ल्याउन असफल भएपछि एएनसीले तीन दशकमा पहिलो पटक सत्ता साझेदारी गर्न बाध्य भएको छ।

एएनसीले डेमोक्र्याटिक एलायन्स (डिए), इन्काथा फ्रिडम पार्टी, अजानियाको पान अफ्रिकनिस्ट काङ्ग्रेसजस्ता १० विपक्षी पार्टीहरू मिलेर संयुक्त सरकारको गठन भएको हो।

रामाफोसाले अबेर राति टेलिभिजनमा सम्बोधन गर्दै अर्थतन्त्र र सरकारको स्थायित्व नयाँ मन्त्रीमण्डलका लागि सबैभन्दा ठूलो चिन्ताको विषय हुने बताएका थिए।

‘आगामी सरकारले तीव्र, समावेशी र दिगो आर्थिक वृद्धि र गरिबी र असमानताको सामना गर्दै न्यायपूर्ण समाजको निर्माणलाई प्राथमिकता दिनेछ,’ राष्ट्रपति रामाफोसाले नयाँ सरकारमा मन्त्रीमण्डलको घोषणा गर्दै भने।

हालैको चुनावमा २१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेको डिएलाई छवटा मन्त्री दिइएको छ भने पार्टीका नेता ४८ वर्षीय जोन स्टेनहुसेनलाई कृषिमन्त्री नियुक्त गरिएको छ। केही साना दलले पनि आफ्ना नेतालाई मन्त्रीमा देख्न पाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here