ताइवानमा आँधीका कारण आठ जनाको मृत्यु



ताइपेई । ताइवानमा ‘टाइफुन गेमी’ आँधीले कम्तिमा आठ जनाको मृत्यु भएको छ । केन्द्रीय आपतकालीन सञ्चालन केन्द्र (सीइओसी) को शुक्रबार जारी सिइओसीको तथ्याङ्क अनुसार चक्रवातको कारण  एक जना बेपत्ता हुनुका साथै ८६६ जना घाइते भएका छन् । 

चक्रवात ताइवान छोडी चिनमा पुगेता पनि, मध्य र दक्षिणी ताइवानमा अविरल वर्षा जारी रहने सञ्चारमाध्यम फोकस ताइवानले रिपोर्ट गरेको छ । आँधी प्रभावित क्षेत्रमा चक्रवातका कारण भएका विविध दुर्घटनामा परी मानिसहरुले ज्यान गुमाएको फोकस ताइवानले जनाएको छ ।


ज्यान गुमाउनेहरुको अहिलेसम्म पहिचान हुन नसकेको जनाउदै अनुसन्धान जारी रहेको फोकस ताइवानले रिपोर्ट गरेको छ । अझै पनि अधिकारीहरूले बेपत्ताहरुको खोजी गरिरहेका छन् । सीइओसीका अनुसार आँधीका कारण विस्थापित भएका एक हजार २ सय ३२ जनालाइ सुरक्षित राख्नका लागि २७९  वटा आपतकालीन शिविर निर्माण गरिएको छ ।

केन्द्रले ताइवानको पूर्वी र दक्षिणी भागमा अझै पनि  भारी वर्षाको सम्भावना  रहेको जनाएको छ ।