तनहुँमा अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा



तनहुँ । जिल्लाको घिरिङ गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गका ६३ जना अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा प्रक्रियाअघि बढाएको छ ।

अपाङ्गता परिचयपत्र लिएका दुई सय ८२ जनामध्ये पहिलो चरणमा  ‘ग’ वर्गका ४९ र ‘घ’ वर्गका १४ जनाको बीमा गरिदिन लागेको हो । अपाङ्गता भएका व्यक्तिका स्वास्थ्य उपचारमा सहज बनाउन बीमा प्रक्रियाअघि बढाएको गाउँपालिका अध्यक्ष होमबहादुर थापाले बताए ।


उनले भने, “आव २०८०/८१ मा अपाङ्गता भएका व्यक्तिका क्षेत्रमा काम गर्न गाउँपालिकाबाट विनियोजित रु चार लाख बजेटमध्येबाट उक्त काम गर्न लागिएको हो ।” वार्षिक शुल्कवापत जनही रु सात सयका दरले बीमा रकम तिरेपछि रु एक लाखसम्मको स्वास्थ्य उपचार सुविधा पाउन सकिने व्यवस्था छ । 

‘क’ वर्गका अपाङ्गता भएका व्यक्तिले तीन हजार तीन सय ९० र ‘ख’ वर्गकाले दुई हजार एक सय २८ मासिक भत्ता प्राप्त गर्छन् ।  ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिले राज्यबाट कुनै सुविधा नपाएकाले गाउँपालिकाले उक्त सुविधा दिने तयारी गरेको हो । 

गाउँपालिकाले गरेको उदाहरणीय कार्यले खुसी छाएको अपाङ्गता समन्वय समिति सदस्य कृष्णप्रसाद अधिकारीले प्रतिक्रिया दिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here