डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि गोरखा–आरुघाट सडक अवरुद्ध



गोरखा । गोरखाको बेनिघाट-आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।

भीमसेन थापा गाउँपालिका- ७ र सहिद लखन गाउँपालिका- ९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका- ७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।


गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट-आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।

‘सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्,’ वडाधयक्ष श्रेष्ठले भने,’सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ ।’