जहाज दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम आजैबाट सुरु हुने, शव पाउन आफन्तले तीन दिन कुर्नुपर्ने



काठमाडौं । सौर्य एयरको जहाज दुर्घटना हुँदा मृत्यु भएका १८ जनाको बुधबार नै पोस्टमार्टम सुरु हुने भएको छ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल स्रोतका अनुसार पोस्टमार्टममा संलग्न सबै प्राविधिक जनशक्तिलाई अस्पताल आउन खबर गरिएको छ ।


शिक्षण अस्पतालले सबै शवहरुको पोस्टमार्टम गर्न कम्तिमा तीन दिन लाग्ने जानकारी दिएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने पनि अस्पतालले जनाएको छ ।

जहाज मर्मतका लागि पोखरा जाँदै गरेको सो विमान बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । चालक दलका २ सदस्यसहित १९ जना सवार थिए । चालक दलबाहेकका १७ जना पनि सौर्य एअरकै कर्मचारी हुन् । दुर्घटनामा परि जहाजका पाइलट मनिषरत्न शाक्यबाहेक सबैको निधन भएको छ ।

शाक्यको हाल काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ । उनी खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

मृत्यु भएकामध्ये १७ जना नेपाली हुन् भने एक जना यमनका नागरिक रहेको खुलेको छ। जहाजका को-पाइलट एस कटुवालको मृत्यु भएको छ। 

अमितमान महर्जन, सागर आचार्य, दिलीप बर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीपलाल जोशी, सर्वेस मरासैनी, श्याम विन्दुकार, नवराज आले, राजाराम आचार्य, अधिराज शर्मा, प्रिजा खतिवडा, उद्धव पुरी, यज्ञप्रसाद पौडल, सन्तोष महतो, पुण्यरत्न शाही र अरेफ रेडाको मृत्यु भएको प्रहरीले जनाएको छ। रेडा यमनी नागरिक हुन्।