जनभावना विरोधी काम गर्ने छुट प्रधानमन्त्री, मन्त्री कसैलाई छैनः शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठुला दल एकै ठाउँमा उभिएर उनीहरुलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । वीपी कोइरालाको ४२औँ स्मृति दिवसको अवसरमा वीपी स्मृति सामुदायिक सहकारी अस्पतालले काठमाडौंमा आयोजना गरेको स्मृति सभालाई सम्बोधन गर्दै उनले अब जनताले सुशासनको अनुभुति हुने गरि सरकारले काम गर्नुपर्ने बताएका हुन् ।

अहिलेको गठबन्धनले सुशासन र राजनीतिक स्थायित्व दिन्छ भन्ने सन्देश दिएको उनले बताए । तरपनि कांग्रेस र एमाले सचेत हुनुपर्ने उनको भनाइ थियो । ‘अब पनि दुई ठूला दलले गल्ती गरे र जनताको भावना बुझ्न सकेनन् भने देश नै कोल्याप्स गर्न पनि सक्छ,’– उनले भने ।


नेता कोइरालाले यदि मन्त्रीहरुले गलत काम गरे तिनको आलोचना र विरोध गर्न कार्यकर्तालाई आग्रह गरे । ‘जनभावना बिरोधी काम गर्ने छुट न त प्रधानमन्त्रीलाई छ न मन्त्रीलाई छ,’– उनले भने ।

नेता कोइराला वीपी कोइरालाको सिद्धान्तअनुसार कांग्रेसका नेता एवं कार्यकर्ता हिड्न नसकेको टिप्पणी गरे । ‘हिजो पश्चिमको साथीलाई चोट लाग्दा पुर्वको साथीलाई दुख्थ्यो । पूर्वको साथीको पिडाले पश्चिमको साथीलाई पोल्थ्यो, हामी आफुलाई वीपीका अनुयायी भन्छौं । तर, स्वार्थमा परेर आफू–आफुमै लड्छौं। वीपीले त यस्तो कहिल्यै सिकाउँनु भएन । हिजोको त्यो आत्मियता कहाँ गयो ?’ उनले प्रश्न गरे ।