जनप्रतिनिधि र कर्मचारीलाई महिनाको एक दिन अनिवार्य श्रमदान



मान्म (कालीकोट) । कालीकोटको पलाँता गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीले महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने भएको छ । गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१/८२ नीति तथा कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले अनिवार्य श्रमदान गर्ने नीति ल्याएको हो ।

शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पोखरी, सिँचाइ, चौतारो, पाटीपौवा, सरसफाइ र सार्वजनिक निर्माणको क्षेत्रमा सामाजिक सद्भाव र एकताका लागि अनिवार्य श्रमदानको नीति ल्याएको गाउँपालिकाले जनाएको छ । कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर प्रत्येक महिनाको पहिलो शुक्रबार अनिवार्य श्रमदान गर्ने नीतिमा उल्लेख छ ।


नेपाली समाजमा श्रमदान गर्ने परम्परा पुरानै रहेको र अहिले हराउँदै गएका कारण महिनाको एकदिन अनिवार्य श्रमदान गर्न गराउन कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर अनिवार्य श्रमदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताए ।

“गाउँघरमा खेती किसानीमा पर्म जाने परम्परा उस्तै छ । पर्मकै परिमार्जित रुप श्रमदान रहेकाले गाउँको सद्भाव कायम गर्न जनश्रमदान अनिवार्य बनाएका छौँ”, उनले भने, “गाउँघरमा बाटाघाटा, नाला, पुलपुलेसा बनाउन तथा कुलो खन्न श्रमदान गर्ने गरिन्छ । अहिले श्रमदान गर्ने प्रचलन हराउँदै गएको छ ।”

श्रमदानसँगै विकासमा केही टेवा पुग्ने भएकाले श्रमदान गर्नुपर्ने संस्कृतिको विकास गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिए । श्रमदान गर्ने पराम्परा हराउँदै गएकाले त्यसको पुर्नतार्जगी गर्न श्रमदान अनिवार्य गर्ने नीति ल्याएको अध्यक्ष रोकायाको भनाइ छ ।