खोपारा जोड्ने पदमार्ग निर्माण



म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीयस्थल खोपारा जोड्ने पदमार्ग निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) र पर्यटन तथा उद्योग कार्यालय म्याग्दीले दुई किलोमिटरभन्दा बढी पदमार्ग, दुईवटा आश्रयस्थल, खानेपानी, दृश्यावलोकन स्थललगायत पूर्वाधार निर्माण गरेका हुन् ।

प्रदेश सरकारको १३ लाख, गाउँपालिका र युएनडिपीको १२÷१२ लाख बजेटमा पदमार्ग, आश्रयस्थल, दृश्य अवलोकनस्थल र खानेपानीको पूर्वाधार निर्माण गरेको उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद तिलिजाले जानकारी दिए ।


पूर्वाधारबाट खोपारा भ्रमणमा आउने पर्यटक, खयर ताल जाने भक्तजन, तीर्थयात्रीहरुलाई सुविधा पुगेको छ । उद्योग तथा पर्यटन कार्यालयमार्फत विनियोजन भएको बजेटबाट खोपारादेखि खयरतर्फ जाने पदमार्गमा एक किलोमिटर दुई सय मिटर माटो काटेर र दुई सय ४५ मिटर ढुङ्गा छापेको पदमार्ग निर्माण भएको कार्यालयका इन्जिनियर सुमन बोगटीले बताए । खानेपानी भण्डारण गर्न पाँचवटा ट्याङ्की राखिएको छ ।

पैदलयात्रीलाई विश्राम गर्नका लागि १६ वटा फलामको बेञ्च राखिएको छ । लाकुशेको मुहानमा ट्याङ्की बनाएर पदमार्ग र खोपाराको सामुदायिक लजमा खानेपानीको व्यवस्थापन गरिएको हो । युएनडिपी र अन्नपूर्ण गाउँपालिकाको साझेदारीको कार्यक्रममार्फत चमकी ओडार क्षेत्रको साँघुरो पैदलमार्गको डिलतर्फ ५३ मिटर फलामको रेलिङ राखिएको छ । दुई सय ३६ मिटर ढुङ्गाको सिँढी, सात सय ९८ मिटर माटो काटेको पदमार्ग र दुई ठाउँमा आश्रयस्थल बनाइएको अन्नपूर्ण गाउँपालिका–५ का प्राविधिक रोहित बस्ताकोटीले बताए । राते र सुनौलोमा एक÷एकवटा ट्रसले छाएको १० देखि १५ जना बास बस्न सक्ने आश्रयस्थल निर्माण भएको छ ।

खोपाराको सामुदायिक लजको नयाँ भवनको डिलतर्फ पर्खाल बनाएर संरक्षण गरिएको छ । समुन्द्री सतहदेखि तीन हजार ६ सय ६० मिटरको उचाइमा अवस्थित खोपारालाई केन्द्र बनाएर अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्ग सञ्चालन भएको छ ।

सडक विस्तारसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा छोटिएको पर्यटकको बसाइँ र यात्राअवधि लम्ब्याउन खोपारालाई वैकल्पिक गन्तब्य बनाउने उद्देश्यअनुसार पूर्वाधार विस्तार गरिएको अन्नपूर्ण–५ का वडाअध्यक्ष राजेश तिलिजा पुनले बताए । खोपारा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापभित्र) पर्छ । घोडेपानी, शिख, पाउद्वार र नारच्याङबाट खोपारा जोड्ने पदमार्ग रहेका छन् । खोपारामा रहेको ६० जना क्षमताको लज समुदायले सञ्चालन गरेका हुन् ।

सामुदायिक विद्यालयका निजी स्रोतका शिक्षकको तलबभत्ता जुटाउन खोपारामा सुरु गरिएको सामुदायिक लजलाई पछिल्लो समय पर्यटन सहकारी संस्थामार्फत सञ्चालन गरिएको छ । खोपाराको विकासमा अगुवाइ गरिरहेका राजु पुनका अनुसार पूर्वाधार नहुँदा र पर्यटक नआउँदा खोपारा स्थानीयवासीको भैँसी गोठमा सीमित थियो ।

गुराँसको जङ्गलको बीचमा पहाडको टाकुरामा भिरालो भूगोलमा अवस्थित खोपारा जैविक विविधतायुक्त ठाउँ हो । अन्नपूर्ण, धौलागिरि, नीलगिरि, गुर्जा हिमाल, सूर्योदय, सूर्यास्त, पहाडी भूगोल, वनजङ्गल, वन्यजन्तु, पशुगोठ, ताल, झरनाको दृश्य अवलोकन गर्न सकिन्छ । खोपाराको प्राकृतिक सौन्दर्यले यात्राको थकान र दुःख बिर्साउने पर्यटकरुको अनुभव छ ।

पाउद्वारवासीले खोपारा र खयरभारानी थान जोड्ने पदमार्गमा रु एक करोड ६० लाखभन्दा बढी चन्दा जुटाएर पूर्वाधार निर्माण गरेका छन् । जङ्गल, भिर र अप्ठ्यारो पहाडको बाटोमा आफ्ना दिवङ्गत भएका आफन्तको सम्झनामा १० किलोमिटरभन्दा बढी पदमार्ग, एक सयवटा चौतारी, तीनवटा धर्मशाला र १० ठाउँमा पानीका धारा बनाएका छन् ।