काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले सुन्दरीजलमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ एवं खानेपानी प्रशोधन केन्द्र र त्यहाँको ल्याबको निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री यादवले काठमाडौंका नागरिकलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए। उनले भने, ‘फोहर पानी कुनै पनि हालतमा काठमाडौं नजाओस्, सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्नुहोला, काठमाडौंमा सफा, शुद्ध र स्वच्छ पानी बाह्रै महिना वितरण गर्नका लागि आवश्यक सबै व्यवस्था गर्न मन्त्रालय प्रतिबद्ध छ।’
विसं २०७६ मा मेलम्चीमा आएको प्राकृतिक विपत्तिबाट क्षति भएको र मेलम्चीको पानी बाह्रै महिना काठमाडौंमा वितरण गर्न समस्या भएको उल्लेख गर्दै मन्त्री यादवले समस्या समाधानसहित काठमाडौं उपत्यकामा बाह्रै महिना कसरी पानी पठाउने भन्ने विषयमा सरकार गम्भीर भएर लागेको बताए।
काठमाडौंवासीलाई सफा, शुद्ध र स्वच्छ पानी वितरण गर्न बिदाका दिनमा पनि काम गर्न उनले कर्मचारीहरूलाई आग्रह गरे। मन्त्री यादवले भने, ‘उपकरणलगायत बजेटमा समस्या छ भने मलाई भन्नुस्, हामी दिन्छौँ तर काठमाडौंवासीको स्वच्छ पानी खाने सपना पूरा गर्नुस्।’