कैलाली भन्सारद्वारा सात अर्ब राजस्व सङ्कलन



गोदावरी । कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्ष २०८०-८१ मा सात अर्ब ९१ करोड ८० लाख राजस्व संकलन गरेको छ । भन्सार कार्यालयलाई गत आवमा रु एघार अर्ब ५८ करोड २४ लाख राजस्व संकलनको वार्षिक लक्ष्य दिइएको थियो । 

 भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काका अनुसार सवारिसाधन, पेट्रोलियम पदार्थ, निर्माण सामग्री, हार्डवेयरका सामान, खाद्यान्न, तरकारी, कपडालगायतका सामानको आयात घटेकाले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकिएको हो । 


आव  २०८०-८१ मा भन्सार महसुलबापत तीन अर्ब एक करोड, मूल्य अभिवृद्धि करबापत तीन अर्ब १७ करोड, अन्तः शुल्क बापत रु २० करोड ४४ लाख र अन्य शुल्क बापत रु एक अर्ब ५२ करोड राजस्व संकलन भएको उनले बताए। 

भन्सार कार्यालयले आव २०८०-८१ मा लक्ष्यको ६८ दशमलव ३६ प्रतिशत मात्रै राजस्व संकलन गरेको छ । भन्सार कार्यालयको तथ्यांक अनुसार आव २०७९-८० मा आठ अर्ब २९ करोड राजस्व संकलन गरेको थियो । आव २०७८-७९ मा रु नौ अर्ब ५८ करोड राजस्व असुली भएकामा आव २०७७-७८ मा आठ अर्ब ८४ करोड संकलन भएको थियो ।

यसैगरी, आव २०७६-७७ मा कोभिड–१९ महामारीका कारण चार अर्ब ९२ करोड मात्रै राजश्व संकलन भएको थियो भने आव २०७५-७६ मा पाँच अर्ब १९ करोड संकलन गरेको कार्यालयले जनाएको छ ।