कैलालीमा बाढीले बगाएर एक जनाको मृत्यु



सुदूरपश्चिम । कैलालीको गौरीगङ्गा नगरपालिका–११ स्थित कटेनी नदीको बाढीमा बगेर स्थानीय २० वर्षीया सुस्मिता चौधरीको आज मृत्यु भएको छ । काठेपुल तर्ने क्रममा अचानक बाढीमा खसेर चौधरी बेपत्ता भएका थिए ।

तत्कालै घटनास्थल पुगेको प्रहरीको विपद् उद्धार टोलीले घटनास्थलदेखि १० मिटर तल उनको शव फेला पारेको मसुरियास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।


प्रदेश सरकार, प्रदेश आपत्कालीन सञ्चालन केन्द्रका अनुसार वर्षासँगै नदी तथा खोलामा बढेको पानीको बहावका कारण कैलालीको घोडाघोडी नगरपालिकाको चुड्डीकाँडा नदीको काठेपुल, र डोडा नदीको काठे पुल बगाएको छ । पुल बगाउँदा आवागमन बन्द भएको छ ।

वर्षासँगै भजनी नगरपालिका, कैलारी गाउँपालिका क्षेत्रमा बाढी बस्तीमा पसेपछि १५ घरपरिवार विस्थापित भएका छन् । विस्थापित परिवार नजिकैको अग्लो स्थानमा रहेको आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

धनगढी उपमहानगरपालिकाको शिवनगर, वसन्त टोललगायत बस्ती जलमग्न भई कतिपय परिवारको घरमा पानी पसेको छ । वर्षासँगैको डुबानले जिल्लाको दक्षिणी क्षेत्रको होचो भूभागका बस्ती प्रभावित भएका छन् ।

अविरलको वर्षापछि जिल्लाका मोहना, खुटिया, पथरैया, मुढा, गोरीगङ्गा, कान्द्रा, शिवगङ्गा र काँडा नदीमा पानीको बहाव बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here