केन्द्रीय कार्यसम्पादन समिति बैठक : मन्त्री छनोट गर्न कांग्रेसले बनायो मापदण्ड



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको मापदण्ड बनाएको छ ।

आज (शनिबार) बसेको बैठकले सरकारमा सहभागी हुने मन्त्री चयन गर्दा योगदान र योग्यतालाई मुख्य आधार मान्ने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले बताए ।


बैठकले योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने मापदण्ड बनाएको सो पार्टीको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । सकेसम्म एकैपटक मन्त्रीहरुको टुंगो लगाएर जाने तयारी गरिएको समेत प्रवक्ता महतले बताए । 

उनले भने, ‘नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमालेबिच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमति भए अनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम गठन हुने नेकपा (एमाले)का अध्यक्ष माननीय केपी शर्मा ओली नेतृत्वको सरकारमा नेपाली काँग्रेसको विधान २०१७ संशोधनसहितको धारा २२ को उपधारा ११ बमोजिम सहभागी हुने यो बैठकले निर्णय गरेको छ । योगदान र योग्यताको मुख्य दुई आधारमा समावेशिता र प्रादेशिक सन्तुलन दृष्टिगत गरेर मन्त्रीहरू चयन गर्ने यो बैठकले निर्णय गरेको छ ।’