कारागारको भौतिक संरचना थप गर्न आवश्यक छ : गृहमन्त्री लेखक



काठमाडौं । गृहमन्त्री रमेश लेखकले कारागारलगायत गृह मन्त्रालय अन्तरगतका निकायहरूको भौतिक संरचनामा सुधार गर्न आवश्यक रहेको बताएका छन् । आइतबार सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘समितिमा उठेका कुरा सबै ठिकै छन् । तर भौतिक संरचनाको कुरा सबै भन्दा राम्रो छ । यसलाई हामीले सुधार गर्नु आवश्यक छ । स्वास्थ्य र सरसफाइको कुरामा पनि सरकारले गम्भीर तरिकाले सोचेको छ,’ उनले भने, ‘भौतिक संरचना जीर्ण छन्, कम छन्, ठाउँ कम छ । बढी संख्यामा कैदिबन्दी राख्नुपर्ने स्थिति छ । त्यही भएर स्वस्थ्य र सरसफाइको समस्या स्वतःउत्पन्न हुने भएकाले त्यसमा काम गर्नुपर्छ ।’


गृहमन्त्री लेखकले सुरक्षा व्यवस्थाको कुरापनि गम्भीर भएर ध्यान दिनुपर्ने जिकिर गरे । उनले सवारी साधनबाट लिएर पुस्तकालयसम्मको कुरामा पनि सरकारलाई ध्यानाकर्षण गरिने बताए ।

उनले अहिलेको समयमा अपराधका घटनाहरु धेरै बढेको बताए। उनले जबरजस्ती करणी, लागुऔषध तथा कर्तव्य ज्यान मुद्दाको अपराधहरू बढ्दै गएको बताए ।

जबरजस्तीकरणी र लागू औषधसम्बन्धी अपराधलाई न्यूनीकरण र नियन्त्रण गर्नेतर्फ सरकारले पर्याप्त ध्यान दिने पनि उनले प्रतिबद्धता जनाए ।

समिति बैठकमा गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले ७२ वटा कारागारमध्ये अहिले १० वटाको स्तरोन्नति भइसकेको बताए । उनले कैदीबन्दीको स्वास्थ्य बीमा पनि अगाडि बढको जानकारी गराए ।