कामपाले थाल्यो सेवाग्राही सर्वेक्षण कार्यक्रम



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि स्वर्णिम योजनाअन्तर्गत ‘साथी महानगर’ सेवाग्राही सर्वेक्षण कार्यक्रम थालनी गरेको छ । कामपाले केन्द्रीय कार्यालय रहेको काठमाडौँ प्लाजाबाट काम सुरु गरेको कामपाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए ।

गत वर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो । सर्वेक्षण थालिएको पहिलो दिन ३३ जना सेवाग्राहीले फाराम भरेको उनले बताए ।


सर्वेक्षणका विषयमा प्रमुख प्रशासकीय अधिकृत परियार भन्छन्, ‘हामी कामपामा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि ‘वेञ्च मार्किङ’ गर्दैछौं । एकल सेवा केन्द्र सञ्चालनमा आइसकेपछिको सेवाप्रवाहमा आएको परिवर्तनलाई तथ्यसहित मापन गर्न यसले आधार प्रदान गर्नेछ । आगामी वर्ष यही समयमा यस्तै सर्वेक्षण गरेपछि नतिजा थाहा हुन्छ ।’

तुलनात्मक विवरणबाट मापनयोग्य अवस्था प्राप्त हुने बताउँदै उनले काम भएको देखिने तर सेवाग्राही सन्तुष्ट नहुने अवस्था नरहोस् भन्नका लागि सर्वेक्षण गरिएको धारणा राखे ।

सेवाग्राहीलाई फाराम भराउन सुरु गर्नुअघि सर्वेक्षणको तथ्याङ्क व्यवस्थापनमा खटिने कर्मचारी, फारम भर्ने भराउने कार्यमा परिचालन हुने इन्टर्न र नगर प्रहरीलाई प्रमुख प्रशासकीय अधिकृतको सचिवालयका उपनिर्देशक प्रहलाद घिमिरेले अभिमुखीकरण गरेका थिए ।

सर्वेक्षणका विविध पक्ष, सर्वेक्षणका क्रममा सेवाग्राहीसँग गर्नुपर्ने आचरण, व्यक्तिगत गोपनीयता जस्ता विषय अभिमुखीकरणमा समेटिएका थिए ।

सर्वेक्षणका लागि सेवा प्रवाहका विभिन्न चरण, प्रक्रिया र अवस्थासँग सम्बन्धित २८ वटा प्रश्न राखिएका छन् । यी प्रश्नहरुका वैकल्पिक उत्तर दिइएका छन् । सेवाग्राहीले यसरी दिइएका उत्तरमध्येबाट आफूले अनुभूत गरेको अवस्थाको जवाफमा चिह्न लगाउनुपर्नेछ । फाराममा नाम थर लेख्नुपर्ने भए पनि फोन नम्बर अनिवार्य गरिएको छैन ।

सर्वेक्षणका लागि दई जना इन्टर्न र एक जना नगर प्रहरी खटाइएको छ । सर्वेक्षणमा सहभागी हुने सेवाग्राहीलाई पाँच वटा मास्क प्रदान गरेर हार्दिकता प्रकट गरिन्छ । दैनिक दिउँसो १२ बजेदेखि ५ बजेसम्म र शुक्रबार १२ बजेदेखि ३ बजेसम्म भराइने सर्वेक्षण स्वेच्छिक हो । सेवाग्राहीले इच्छा गरे मात्र भर्न लगाइन्छ । यसमा कसैलाई फाराम भर्न कर लगाइँदैन ।

यसरी भराइएका फाराम हरेक दिन प्रमुख प्रशासकीय अधिकृतको सचिवालयमा बुझाउने प्रबन्ध गरिएको छ । पहिलो चरणमा पाँच सय जना सेवाग्राहीले फाराम भरेपछि यसको विश्लेषण हुनेछ ।