कामपामा आगोजन्य विपद्का घटना बढे



काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ मा काठमाडौँ महानगरपालिकामा चार सय ३१ वटा विपद्का घटना घटेका छन् । कामपा नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले अघिल्लो आव २०७९/८० मा तीन सय ९९ विपद्का घटना घटेकामा गत वर्ष त्यो सङ्ख्या बढेको जानकारी दिए । अघिल्लो आवभन्दा गत आवमा विपद्का घटना वृद्धि भए पनि मानवीय क्षति कम भएको उनले बताए ।

गत वर्ष एक जनाको मात्रै ज्यान गएकामा अघिल्लो आवमा चार जनाको मृत्यु भएको थियो । उनकानुसार यहाँ आगलागीका घटना धेरै हुने गरेका छन् । ग्यास चुहावट भएर हुने आगलागी र विद्युत् पोलमा धेरै तारहरू अव्यवस्थित रूपमा राख्दा आगलागीका घटना बढी हुने गरेका हुन् ।


यस्ता घटना न्यूनीकरणका लागि सरोकार भएका निकायसँग छलफल तथा समन्वय अगाडि बढाइएको पनि जोशीले जानकारी दिए । त्यसैगरी म्याद गुज्रेका ग्यास सिलिन्डरको प्रयोग, ग्यास पाइप र लेगुलेटरको नियमित परीक्षण नगर्दा आगोजन्य विपद्का घटना बढिरहेको महानगरको निष्कर्ष छ ।

टोलटोलमा जनचेतना, विगतमा एक स्थानबाट मात्रै दमकल सेवा दिँदै आएकामा हाल तीन स्थानबाट सेवा प्रवाह जस्ता काम अगाडि बढाइएकाले आगामी दिनमा यस्ता घटनामा कमी आउने कामपाको विश्वास रहेको छ ।