कंगोमा नेपाल सेनाद्वारा स्वास्थ्य शिविर संचालन



काठमाडौं । संयुक्त राष्ट्रसंघको पुरानो र विश्वासिलो सदस्यका राष्ट्रका रुपमा विश्वभर शान्ति स्थापनार्थ योगदान दिँदै आएको नेपाली सेनाले विश्वशान्तिका लागि अन्तर्राष्ट्रिय मैदानमा तैनाथ रहँदा पनि जनहितका उदाहरणीय काम गर्दै आएको छ ।

हाल कंगोमा शान्ति स्थापनार्थ तैनाथ रहेको नेपाली सेनाको केवलजंग गुल्मले कंगोस्थित एक कारागारमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । मिसनमा खटिइरहेका नेपाली सेनाका चिकित्सक अधिकृतसहितको टोलीले उक्त स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।


कैदीबन्दी लक्षित स्वास्थ्य शिविरमा स्थानीय नागरिकसहित करिब एक हजार ४ सयले स्वास्थ्य परीक्षण गर्ने अवसर पाएका थिए । सहभागीहरुको स्वास्थ्य परीक्षणपछि नेपाली सेनाको स्वास्थ्य टोलीले उनीहरुलाई आवश्यक स्वास्थ्य सामाग्री र औषधिसमेत निःशुल्क वितरण गरेको नेपाली सेनाले जनाएको छ ।