ओलीले स्वर्ग-नर्क सँगै जाउँला भनेपछि मख्ख परेँ, नराम्रो धोका पाएँ : प्रचण्ड (पूर्णपाठसहित)



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले आफूलाई मिठो बोलेर नराम्रो धोका दिएको बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्नुअघि बोल्दै ओलीले असार १७ गते स्वर्ग र नर्क सँगै जाने, २०८४ को चुनाव सँगै लड्ने भनेर धोका दिएको बताए ।


उनले नेपाली कांग्रेस र एमालेलाई संविधान संशोधन गर्ने भए देशलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा लैजानुपर्ने चुनौती दिए ।

‘संविधान संशोधन गरौँ, दलित महिला र विपन्नको सहभागिता बढाऊँ । तपाईंहरूलाई अहिले बाडुल्की लागिरहेको होला’, उनले भने, ‘एमाले अध्यक्षको क्षमता र कला तारिफयोग्य छ । मलाई राम्रोसँग फकाउनु भयो, वामपन्थी पो मिल्नु पर्छ, कांग्रेस कहाँ हाम्रो कुरा मिल्छ भन्नु भयो । म त अलिक सेन्टिमेन्टल भएँ होला त नि भनेर विश्वासमा परेँ । तर अहिले धोका भयो ।’

उनले ओलीले कम्युनिष्ट एकता गरौँ भन्दा आफूले मानेको पनि बताए । ‘सरकारको गियर परिवर्तनका लागि यो बाटो ठिक छ भनेर ढुक्क भएँ । त्यो कुरा त षड्यन्त्र रहेछ भन्ने बल्ल बुझेँ । केही मान्छे कुन्ठा र षड्यन्त्रबाट कहिले निस्किन सक्दैनन् भन्ने मैले ठानिनँ’, उनले भने, ‘स्वर्ग र नर्कसँगै जाने कुरा असार १७ गतेको हो । १७ गते बिहान स्वर्ग र नर्कमा सँगै जाने, २०८४ मा चुनाव पनि सँगै लड्ने कुरा ‌ओलीले गर्नु भयो । म ढुक्क भएर बसेँ। मूल नेतृत्वले नै स्वर्ग गए पनि सँगै नर्क गएँ पनि सँगै भनेकाले दायाँबायाँ नहुनेमा ढुक्क थिएँ ।’

ओलीले त्यसो भनेपछि क्याबिनेटमा गएर आफूले त्यही ब्रिफिङ गरेको उनले बताए । ‘म क्याबिनेटमा गएँ, मलाई साथीहरूले दायाँबायाँ हुन लागेको भन्नु भयो, तर मैले तपाईंहरू बुझ्नु हुन्न चार घण्टा कुरा गरेर आएँऽ एमाले अध्यक्षसँग भने तर म त …टो रहेछु ।’

उनले नयाँ सत्ता समीकरण बनाइरहेका कांग्रेस र एमालेका नेताहरूलाई कसैलाई धोका नहोस् भनेर सुझाव दिए । ‘हजारौँ नेपालीको त्याग र बलिदान छ यो लोकतन्त्र ल्याउनमा’, उनले भने, ‘लोकतन्त्रका लागि लड्ने प्रचण्ड जस्तो क्रान्तिकारी नेता फेरि फेरि जन्मिँदैन, यति हेक्का होस् ।’

https://drive.google.com/file/d/1RQJCmIvBYWP8lERjHQ5NAvlhFfO1LQGW/preview