ओलीलाई बालेनको प्रश्न : भोटको राजनीति कहिलेसम्म ?



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सुकुम्बासीका नाममा भोटको राजनीति नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शनिबार राति सामाजिक संजालमार्फत मेयर साहले अब प्रधानमन्त्री हुँदा सुकुम्बासी समस्याको समाधान गर्न आग्रह गरेका हुन् । उनले एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो भन्दै प्रश्न गरेका छन् ।

यस्तो छ बालेनको भनाई


माननीय केपी ओलीज्यू,
आज काठमाडौँमा केही घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो । अनि ठूलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० वर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५, ००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’

पछिल्लो समय मेयर साह ओलीप्रति आक्रोशित देखिएका छन् । उनले एमाले कांग्रेसबीचको सहमतिलाई कटाक्ष गर्दै भनेका थिए, ‘यो समय गिरिबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’ मेयर साह गिरिबन्धु प्रकरणमा ओलीप्रति आक्रोशित हुँदै आएका छन् ।