उदयपुरको त्रियुगामा भाइरल ज्वरोका बिरामी बढे



उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ ।

अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् ।


पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले जानकारी दिए ।

त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट, पुरानो गाइघाट, असारी, मोतिगडा, देउरी, बगाहा, जलजले, राजाबास, चुहाडे, लक्ष्मीपुर, पोर्ताह, खैराहा झोडा, बिषणपुर, खैजनपुर, मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक रुपमा भाइरलको प्रकोप फैलिदै गएको छ । प्रत्येक घरमा एक–दुई देखि सम्पूर्ण परिवारहरुसमेत भाइरल ज्वरोबाट प्रभावित भइरहेका छन् ।

त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसँगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।