इजरायल हमास युद्धभएको करिब नौ महिनापछि गाजामा हमास प्यालेस्टिनी लडाकूले बन्धक बनाएका व्यक्तिहरूलाई मुक्त गर्ने पछिल्लो प्रयासका लागि इजरायलका गुप्तचर प्रमुख शुक्रबार कतारमा जाने अपेक्षा गरिएको छ । वार्ताबारे जानकार एक स्रोतका अनुसार मोसाद गुप्तचर सेवाका प्रमुख डेभिड बर्नियाको नेतृत्वमा इजरायली प्रतिनिधिमण्डल ‘गाजामा दुवै पक्षलाई सम्झौताको नजिक ल्याउने उद्देश्यले’ छलफलका लागि खाडी मुलुक कतारतर्फ जान लागेको हो ।
अक्टोबर ७ मा हमासले दक्षिणी इजरायलमा गरेको आक्रमणबाट सुरु भएको गाजा युद्धले लेबनानसँग सम्बन्धित व्यापक द्वन्द्वको डर बढाएको छ । हमासले गरेको आक्रमणमा करिब एक हजार २०० जनाको मृत्यु भएको थियो र मारिनेमा अधिकांश सर्वसाधारण थिए । हमास लडाकूले आक्रमणपछि करिब २५० जनालाई बन्धक बनाएका थिए भने तीमध्ये करिब आधा बन्धकलाई यस पहिलेको युद्धविराम र बन्धक तथा बन्दी रिहाई सम्झौता अन्तर्गत रिहा गरिएको छ । बाँकी बन्धकमध्ये ४२ जना मारिएका र अझै ११६ जना हमास लडाकूको नियन्त्रणमा रहेको इजरायली सेनाले दावी गर्दै आएको छ ।
हमास आक्रमणको प्रत्युत्तरमा इजरायलले गाजामा गरेको हवाइ तथा स्थल आक्रमणमा कम्तीमा ३८ हजार ११ जनाको मृत्यु भएको र मारिनेमा अधिकांश महिला तथा बालबालिका तथा सर्वसाधारण रहेका हमास शासित क्षेत्रको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । नाम नबताउने शर्तमा कतारी अधिकारीले भने, “बार्नेयाले कतारका प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीलाई भेट्नुहुनेछ ।
इजिप्टसँग मिलेर महिनौँदेखि सम्झौताका लागि सहयोग गर्ने प्रयास गरिरहेको संयुक्त राज्य अमेरिकाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको प्रतिनिधिमण्डल पठाउने निर्णयको स्वागत गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले गत मे महिनामा युद्धविराम सम्झौताको मार्ग प्रशस्त गर्ने घोषणा गरेका थिए ।
संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले गत जुनमा बाइडेनले अघि सारेको योजनाको स्वागत गर्दै अमेरिकाले तयार पारेको प्रस्ताव पारित गरेको थियो, जसमा प्रारम्भिक छ हप्ताको युद्धविराम, गाजाको जनसङ्ख्या केन्द्रबाट इजरायली सेनाको फिर्ता र हमासद्वारा बन्धकहरूलाई मुक्त गर्ने समावेश थियो तर वार्ता पछि रोकियो ।
एक वरिष्ठ अमेरिकी अधिकारीले बिहीबार इस्लामिक आन्दोलनको पछिल्लो प्रतिक्रियाले प्रक्रियालाई अगाडि बढाउने र सम्झौतालाई बन्द गर्ने आधार प्रदान गर्न सक्ने बताएका थिए । संयुक्त राज्य अमेरिकाले इजरायल र हमाससँग सम्झौतामा पुग्नका लागि ‘धेरै महत्त्वपूर्ण अवसरको सुरूवात’ भएको विश्वास गरेको ती अधिकारीले बताए ।