इजरायलले क्रुर यातना दिएको रिहा भएका गाजाबासीको आरोप



इजरायल–हमास युद्धमा इजरायलद्वारा नियन्त्रणमा लिइएका प्यालेष्टिनीहरूलाई इजरायलले आँखामा पट्टी बाँधेर कुटपिट गरेको र कहिलेकाहीँ कुकुरले समेत टोकाएर यातना दिएको आरोप इजरायली जेलबाट रिहा भएका गाजाबासीले लगाएका छन् ।

गाजाको सबैभन्दा ठुलो अस्पताल अल–सिफाका पूर्व निर्देशक मोहम्मद अबु सलमियाले इजरायलले बन्दीहरूलाई दुव्र्यवहार गरेको बताएका छन् । इजरायली जेलबाट सोमबार रिहा गरिएका दर्जनौँ कैदीहरूमध्ये एक साल्मियाले ‘धेरै कैदीहरूको सोधपुछ केन्द्रमा मृत्यु भएको र खाना र औषधिबाट वञ्चित रहेका’ बताए ।


इजरायली सेना र शिन बेट गुप्तचर सेवाले यस विषयमा कुनै प्रतिक्रिया जनाएका छैनन् । यद्यपि उनीहरूले विगतमा यस्ता आरोपहरू अस्वीकार गर्दै आएका छन् । संयुक्त राष्ट्र सङ्घलगायतका संस्थाले लामो समयदेखि इजरायली जेलमा प्यालेस्टिनी कैदीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै आएका थिए ।

जुन ११ मा इजरायलले रिहा गरेपछि गाजापट्टीको कमल अदवान अस्पतालमा लगिएका ५० कैदीहरूमध्ये केहीको एएफपीले अन्तर्वार्ता लिएको थियो । रिहा भएका बन्दीमध्ये एक ३७ वर्षीय महमुद अल–जानिनले आफ्नो अस्पतालको ओछ्यानको यातनाको स्मरण गर्दै भने “मलाई दिनरात कुटपिट गरिएको थियो । हाम्रो आँखामा पट्टी बाँधिएको थियो, हाम्रो हातखुट्टा बाँधिएका थिए र कुकुरले समेत टोकाइएको थियो ।

“संयुक्त राष्ट्र सङ्घले कैदीहरूसँगको इजरायली दुब्र्यवहार ‘अस्वीकार्य’ रहेको बताएको छ । “हामीले यातना, दुब्र्यबहार, हतकडी, खाना, औषधि, पानीबाट कैदीहरू वञ्चित भएको रिपोर्टहरू प्राप्त गरेका छौँ र यो धेरै चिन्ताजनक विषय हो । हामीले यो विषय इजरायली अधिकारीसमक्ष उठाएका छौँ र पारदर्शी अनुसन्धानका लागि आग्रह गरेका छौँ,” संयुक्त राष्ट्र मानव अधिकार आयुक्तकी प्रवक्ता रविना शामदासानीले भने ।

मे महिनामा, इजरायली सेनाले सोधपुछको क्रममा बन्दीहरूलाई निर्वस्त्र गर्ने, यौन दुर्व्यवहार गर्ने र बिजुली प्रहार गरेको आरोप ‘स्पष्ट रूपमा अस्वीकार’ गरेको अमेरिकी सञ्चारमाध्यमको प्रतिवेदनले जनाएको थियो । हमासको आक्रमणपछि इजरायली संसदले नजरबन्दसम्बन्धी नियमहरू संशोधन गरेको हो । डिसेम्बरमा गैरकानुनी लडाकुसम्बन्धी कानूनमा परिवर्तन ल्याएपछि प्यालेस्टिनीहरूलाई विशेष शिविरहरूमा हिरासतमा राख्न प्रयोग गरिएको छ ।

कानुनमा परिवर्तन ल्याएपछि इजरायलले अब प्रशासनिक प्रक्रिया बिना ४५ दिनका लागि कैदीहरूलाई हिरासतमा राख्न सक्छ । कैदीहरूलाई अदालतको सुनुवाइ बिना ७५ दिनका लागि हिरासतमा राख्न सकिन्छ र न्यायाधीशले बन्दीसँग वकिलले सम्पर्क गर्नबाट रोक्न सक्नेछन् ।

“केही बन्दीले आठ महिनाभन्दा बढी समयदेखि वकिलसँग भेटेका छैनन् र अदालतमा उपस्थित नगराई वकिल बिना जूममार्फत् मुद्दा चलाइएको छ,” इजरायलमा यातना विरुद्धको सार्वजनिक समितिका निर्देशक ताल स्टेनरले बताए ।